बड्डी ज्यावन : धार्मिक गाथा र बाह्र देवताको बासस्थान

Image

बझाङ। बझाङ जिल्लामा अवस्थित बुंगल नगरपालिका-६ मा पर्ने बड्डी ज्यावन क्षेत्र एक अनुपम धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ । यो ठाउँलाई ‘ज्यावन बाह्रदेउ क्षेत्र’ भनेरसमेत चिनिन्छ, जहाँ बाह्रवटा देवी-देवताका मन्दिरहरू अवस्थित छन् । पौराणिक कथन, रहस्यमय इतिहास र स्थानीय विश्वासले भरिएको यो क्षेत्र शक्तिपीठका रूपमा हजारौं भक्तजनको आस्थाको केन्द्र बनेको छ । बड्डी ज्यावन क्षेत्रमा नेपालको विभिन्न भागहरूबाट मात्र होइन, छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । विशेषगरी नयाँ वर्ष, दशैँ, कृष्णजन्माष्टमी लगायतका पर्वहरूमा यहाँको चहलपहल झनै बढ्ने गर्छ । यद्यपि, यहाँ प्रत्येक महिनामा सामान्य पूजापाठ निरन्तर गरिने चलन छ ।

ज्यावनको नामको उत्पत्ति र पौराणिक कथा

स्थानीय किंवदन्ती अनुसार, यहाँको भूमिमा कहिलेदेखि देवीदेवताको बासभयो भनेर मितिनै एकिन हुन नसके पनि परापूर्व मध्यकालमा भारतको कत्युर सम्राज्यमा भएको हिन्दुदेखि देवताको बढ्दो प्रभावलाई निस्तेज पार्न १२औं सताप्दीमा भएको मुश्लिमको हमलासँगै त्यहाँका भक्तजनलाई मुसलवानसँग सम्राज्य जित्न मुस्किल परेको थियो । भारतको सात सय कत्युरमा कत्युरे राजा र बाह्रदेवको मेलमिलाप नभई जतिबेला पनि झगडा परिरहने गर्दथ्यो । त्यही समय भारतको कत्युर राज्यमा एक ठूलो धार्मिक संकट उत्पन्न भयो । हिन्दु देवीदेवताहरूमाथि मुष्लिम विदेशी आक्रान्ताहरूले हमला गर्नुभयो । मन्दिरहरू जलाइयो, मूर्तिहरू तोडिए । संकट टार्नका लागि देवी-देवताहरूले आफ्नो रूपान्तरण गर्नुभयो । पौराणिक मान्यता अनुसार, सबै देवताहरूले बँदेलको रूप लिएका थिए ।

हमलाकै क्रममा मुसलवानहरूले हिन्दुहरूको मन्दिर तथा शक्तिपिठमा गाई काटेर गाईको रगतले छुद गर्दा त्यति नै बेला खेतमा एउटा बँदेलको भेष धारण गरी देवता चर्न थाले । त्यसैक्रममा स्युराज र भ्युराज नाम गरेका दुई भाइसहित रप्पु र झप्पु नाम गरेका दुई कुकुर त्यो जंगली बँदेलको सिकार गर्न बदेलको पछिपछि लाग्दै जंगल भीरपाखा गर्दै घनघोर जंगल हालको बड्डी ज्यावन क्षेत्रमा पुगे । ज्यावन क्षेत्र मानव बस्ती नभएको घनघोर जंगल थियो । जंगलकै नजिक एउटा ठूलो गुफाभित्र त्यो बंदेल पस्यो । स्युराज र भ्युराज बदेलकै पर्खाइमा सल्लाको रूखको फेदभित्र बसेका थिए । ती सिकारीहरूलाई सिकार खेल्दा खेल्दै पानी प्यास लाग्यो । त्यहाँ कुनै गाउँ तथा मानव बस्ती नभएकाले पानीका मुहानहरू पनि थिएनन् । साँझपख बदेँल गएको गुफानजिकै कुकुरले पानी भएको ठाउँपत्ता लगायो । र, उनीहरूले पानी पिएर तिर्खा मेटाए । अहिले उक्त पानी फेला परेको ठाउँलाई व्यउर भनिन्छ । त्यस गुफाभित्र पसेको बदेल चार दिन सम्मपनि बाहिर नआएपछि बदेलको भेषमा भवानी देवता अर्थात (पार्वती) बसेको पछि पत्ता लाग्यो । अहिले त्यहाँ भवानी देवीको बास रहेको छ ।

बड्डी ज्यावन क्षेत्रका जाग्री, धामी, बोहरा, महतालगायत थरका मानिसहरूले परम्परागत रूपमा देवताको सेवा र पूजा गरिरहेका छन् । जाग्री समुदायलाई सबै मन्दिरमा पूजा गर्न स्वतन्त्रता दिइएको छ । बाह्रदेउ देवता सन्तान प्राप्ति, रोग निवारण, मुद्दा-मामला जिताउने, धन-सम्मान प्राप्त हुने विश्वाससँग जोडिएको छ । यहाँका प्रायः मन्दिर भक्तजनहरूको लगानीमा तामापत्रले छाइएका छन्, तर गाउँका सबै घर खरको छाना प्रयोग गरेर बनाइएका छन् ।

बँदेलको पछिपछि लागेर त्यहाँ पुगेका उनीहरूलाई पानी पिएर तिर्खा मेटिए पनि सबैलाई भोक लागेको थियो । उनीहरूले खाने कुरा केही नभएर साथमा चिन्डो (एक प्रकारको भाडा) र कुणे (अन्न राख्ने भाडा) लिएर आएका थिए । भोक लागेर आकुल व्याकुल भएका उनीहरू कन्दमुल खोज्न थाले । जंगलमा कन्दमुल खोज्दै गर्दा उनीहरूले एउटा पाँच हागा भएको मेलको रूखमा केही पाँच बाला जौं (एकप्रकारको अन्न) देखे । एउटा भाइले जौं टिपेर दाना निकाली कुणेभित्र राखे र अन्नको पूजा गरेरमात्रै खानुपर्छ भनेर पूजाआजा गरी रातभरी जाग्राम बसे । बिहान कुणे (अन्न राख्ने भाडा) हेर्दा भरिएको देखियो । पछि जति नै अन्न खाए पनि त्यो कुणे कहिल्यै रित्तिँदैन थियो, भन्ने जनविश्वास रहेको छ । बँदेलको पछिपछि आएका दुई भाइ र दुई कुकुरले यसरी यहाँको वनमा पानी, अन्न र आश्रय पाएको धार्मिक जनविश्वास रहेको छ । यसरी घनघोर जंगलमा जौ अन्न भेटिएकाले त्यस क्षेत्रको नाम जौ वनबाट अपभ्रंश भई ज्यावन रहन गएको हो । यही जंगलमा भवानी देवीले तपस्या गरी महादेवलाई बोलाउँछिन् । महादेव कैलाशबाट दार्चुला हुँदै यहाँ आइपुगेको सांस्कृतिका जानकारहरू बताउँछन् ।

बाह्र देवता, १२ गाथा
१. भवानी
भवानी देवी हुन् । उनले बड्डी ज्यावन पुगेर महादेवलाई बर माग्नका लागि तपस्या गरिन् । त्यसपछि महादेव मानसरोवर कैलास पर्वतबाट दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका, सिती हुँदै बड्डी ज्यावन आइपुगे । यसरी शिवको रूपमा महादेवको बास बड्डी ज्यावनमा रहन गयो । त्यसपछि महादेव (शिव) र भवानी (पार्वती)को कोखबाट अन्य देवी-देवताहरूको जन्म भयो । बड्डी ज्यावन क्षेत्रका विभिन्न देवतामध्ये भवानी अचल देवी हुनुहुन्छ । यो देवता कुनै जाति वा थरमा काम्ने गर्दैन । मानिसहरूले आफ्नो श्रद्धा र आस्थाले यहाँ आएर पूजापाठ गर्ने गरेको पाइन्छ ।

२. महादेव

महादेवलाई शिव भनेर चिनिन्छ । भवानीले बर माग्न तपस्या गरेपछि उनी बड्डी ज्यावन पुगिन् । सबै देवताका बुवाका रूपमा महादेवलाई चिनिन्छ । महादेवको मन्दिरमा चामलको सट्टा जौंबाट बनेका अक्षता प्रयोग गरिन्छ । यहाँ हजारौं संख्यामा तामाका डमरु (ढाका) चढाइएका छन् । सबैथरिका रंगका धाँजा चढाइन्छन् । मन्दिरमा बोकाको बलिसहित पूजा गर्दा अनिवार्य रूपमा पूजारीको हातबाट पूजागर्नुपर्ने परम्परा रहेको छ ।

३. बरम
महादेवको पूजाआजा गर्न ब्राहृमण आवश्यक हुने भएकाले बरम देवतालाई कत्युर क्षेत्रबाट ल्याइएको धार्मिक विश्वास छ । उहाँलाई सबै देवताका ब्राहृमणका रूपमा पूजा गरिन्छ । दर्शनार्थीहरूले चामलको अक्षता र फूलपातिले पूजागर्ने गरेको पाइन्छ ।

४. सुलजन

सुलजन देवीलाई सबै देवताको आमाका रूपमा पूजा गरिन्छ । यहाँ चामलले पूजा गरिन्छ । यस मन्दिरमा गाईको बाच्छाको पूजा गरेर ब्राहृमणलाई दान दिने परम्परा रहिआएको छ । बोकाको बली दिने चलन पनि छ । विभिन्न मृतिहरू चढाइन्छन् । यहाँ सेतो रंगको धाँजामात्र चढाइन्छ ।

५. पसरौल

पसरौल देवता बच्चराको पासोभित्र छिर्नसक्ने शक्ति भएको देवता मानिन्छन् । विशेषतः रन्लेक क्षेत्रका धामी थरका मानिसहरूले यसलाई कुलदेवताको रूपमा पूजा गर्छन् । यहाँ पनि सेतो धाँजा चढाइन्छ । यी देवता दार्चुलाको मर्मा गाउँपालिका क्षेत्रबाट आएको विश्वास गरिएको छ ।

६. डोलारी

डोलारीलाई सबैभन्दा शक्तिशाली देवता मानिन्छ । सतयुगमा सिंह थरका एक व्यक्ति डोटीको सिलगढी नगरपालिकामा झुटो आरोपमा जेल हालिएका थिए । उनले डोलारी देवताको गुहार गर्दा डोलारीले बाघको रूप धारण गरेर उनलाई छुटाएको जनविश्वास छ । यहाँ सेतो रंगको धाँजामात्र चढाइन्छ ।

७. लटबाघ
लटबाघलाई महादेवको कपुत छोराका रूपमा वर्णन गरिएको छ । बुबासँगको असमझदारीपछि लटबाघलाई जंगलमा छोड्ने भन्दै महादेवले थानपाटन हुँदै साधुलेक जलजला सुनिधनसेरा हिमालबाट साइपालसम्म पुगेको थियो । पछि महादेवले कपुत छोरालाई छोड्न नसकि साइपालबाट सेती नदीमा बगाएको र सेती नदीबाट बोग्दै केदारस्युँ गाउँपालिकाको देउरा कालंगा नदी हुँदै कालंगा र सानीगाडको दोभानबाट सानिगाड नदीमा बग्दै त्यहिँबाट घोरल मृगको घोडा चढेर फेरी बड्डी ज्यावन पुगपछि शक्तिसशाली भन्दै पूजा गर्न थालिएको हो । यस मन्दिरमा पनि बाका बली दिनुका साथै सेतो कलर भएको धाँजामात्रै चढाइन्छ ।

८. खोलालो
यो देवता आफ्नी आमा भवानीकै नजिक व्यवर खोलामा बस्ने भएकाले यसको नाम खोलालो राखिएको हो । यो देवता पनि शक्तिशाली हो । यस मन्दिरमा पनि बाका बली दिनुका साथै सेतो कलर भएको धाँजामात्रै चढाइन्छ ।

९. डाणबाघ
डाणबाघको जन्म लंगर शाही र रूपा जडेनीबाट भएको मानिन्छ । उहाँका सात भाइहरू छन्, जसको पनि पूजा गरिन्छ । विशेषगरी पशुपालनमा विशेष प्रभाव राख्ने देवता मानिन्छ । डाणबागलाई सबै देवताहरूको सहयोगीका रुपमा रहेको देवताका रूपमा पूजा गरिन्छ । डाणबाघको एक हात र एक खुट्टा नभए पनि शक्तिशाली अपांग देउताको रुपमा लिइन्छ । यहाँ जुनसुकै जातिका मानिसहरूले पूजा गर्न पाउँछन्, र देवताको शक्तिअनुसार काम्ने गर्न सकिन्छ ।

१०. धौलपुर
धौलपुर देवता वैद्य अर्थात् आयुर्वेदिक उपचार गर्ने देवता मानिन्छन् । उहाँ मालजिउला भन्ने स्थानबाट आएको भनाइ छ । यो देवताले प्राय बयलो, हातखुट्टा दुख्नेलगायत रोगहरूको निर्मूल पार्नेगरी उपचार गर्ने जनविश्वास रहिआएको छ । यो धामी र बोहरा थरका मान्छेमा कांप्ने गर्दछ ।

११. हरीचन
हरीचन देवता पनि महादेवसँगै दार्चुलाको अपिहिमाल गाउँपालिका सिती क्षेत्रबाट आएको भनिन्छ । उहाँको पूजा महादेवसँगै गरिन्छ ।

१२. बन्देवती
वन्देवती पनि देवी हुन् । वन्देवतीको पूजा खासगरी गिरौं बस्ने गिर्माल धामी थरका मानिसहरूले गर्ने गर्दछन् । बाह्रदेवताको पूजा गरिसकेपछि धामी थरका मान्छेले अनिवार्य वान्देवती देवीको पूजा गर्ने गर्दछन् । सतियुगमा गिर्माल धामीकी बजै घरायसी विवादका कारण भागेर वनमा गएकी र भीरमा रोकिएर आउन नसक्ने अवस्थामा थिइन् । पछि वनदेवती देवी आएर ती महिलालाई भिरबाट निकालेको थियो । भिरबाट निकालेपछि वनदेवती पनि ती महिलासँग नै आएर बड्डी ज्यावनमा आएर बसेको जनविश्वास छ ।

देवताले जमिन नाप्न नदिएको बड्डी ज्यावन गाउँ

यस गाउँका सबैको आ–आफ्नै खेतबारी छ, तर कसैको नाममा लालपुर्जा छैन । विसं २०४७ सालमा सरकारी टोली अमिनसहित जमिन नाप्न आएको थियो । तर, नापी मेशिनहरूले काम नगर्नेु, गाउँ कुहिरोले ढाकिने, अमिन बिरामी पर्नुजस्ता घटना दोहोरिँदा अन्ततः सम्पूर्ण गाउँलाई महादेवको नाममा गुठीका रूपमा दुई कित्तामा विभाजन गरिएको थियो । स्थानीय नरबहादुर बोहराका अनुसार, त्यसपछि गाउँलेहरू आफूलाई महादेवका ‘करिया’ (दास) मानी वर्षेनी बोकाको बलि चढाएर ‘तिरो’ तिर्छन् ।

उनीहरूले महादेवको जमिन उपभोग गरेवाफत वर्षमा एकपटक महादेव मन्दिरमा बोकाको बलि चढाएर जग्गाको ‘तिरो’ तिर्ने गरेका छन्, जसलाई देवताको मालपोत मानिन्छ । बड्डी ज्यावनको गुठी जमिन बिक्री-खरिद निषेध गरिएको छ र देवताको साझा सम्पत्तिका रूपमा मानिन्छ ।

धार्मिक, सामाजिक र सांस्कृतिक सामञ्जस्य

बड्डी ज्यावन क्षेत्रका जाग्री, धामी, बोहरा, महतालगायत थरका मानिसहरूले परम्परागत रूपमा देवताको सेवा र पूजा गरिरहेका छन् । जाग्री समुदायलाई सबै मन्दिरमा पूजा गर्न स्वतन्त्रता दिइएको छ । बाह्रदेउ देवता सन्तान प्राप्ति, रोग निवारण, मुद्दा-मामला जिताउने, धन-सम्मान प्राप्त हुने विश्वाससँग जोडिएको छ । यहाँका प्रायः मन्दिर भक्तजनहरूको लगानीमा तामापत्रले छाइएका छन्, तर गाउँका सबै घर खरको छाना प्रयोग गरेर बनाइएका छन् । सिमेन्ट वा पत्थर प्रयोग गर्न मिल्दैन भन्ने जनविश्वास छ । स्थानीयहरूले आजभोली जस्तापाता टीन लगाउने गरका छन् । त्यहाँ भैंसी र कुखुरा पनि पाल्न नमिल्ने जनविश्वास छ ।

दूध खान गाईमात्रै पालिन्छ । यसभन्दा पहिले गाउँभित्र पुत्ता चप्पल पनि लगाउन मिल्दैन थियो । संकटकालमा माओवादी उक्त गाउँ पुगिर सबैलाई जुत्ता चप्पल लगाउन बाध्य पारिएको स्थानीय उजले बोहराको भनाइ छ । यही विश्वास र श्रद्धाले बड्डी ज्यावनलाई बुंगल नगरपालिकामात्रै होइन, सम्पूर्ण सुदूरपश्चिमको गर्विलो आस्थाको थलो बनाएको छ । यस गाउँको कहिल्यै प्रचारप्रसार नभएको र राज्यले विकासमा ध्यान नदिएको स्थानीयवासीहरूको गुनासो छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन