बझाङ । बैतडीको पाटन नगरपालिका–८, खोड्पे जसुलीखालीका संस्कार शिरोमणी ज्योतिषाचार्य गणेशप्रसाद पन्त विगत २६ वर्षदेखि दलित समुदायका घर–घरमा पुगी वैदिक विधिबाट विभिन्न धार्मिक कर्मकाण्ड गर्दै आउनुभएको छ। जातीय विभेद विरुद्ध धार्मिक माध्यमबाट जागरण ल्याउने उद्देश्यका साथ उहाँले निरन्तर सेवा गर्दै आउनुभएको छ।
दलित बस्तीमा कर्मकाण्ड गर्न थालेदेखि नै उहाँमाथि धम्की र दबाबका घटना घटे पनि उहाँले आफ्नो अभियानलाई रोक्नुभएको छैन। “ज्यान मार्ने धम्कीसमेत आए तापनि म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन,” उहाँले बताउनुभयो। समाजमा विद्यमान विभेद हटाउन कर्मकाण्डमार्फत पनि सन्देश दिन सकिने विश्वासका साथ उहाँले आफ्नो अभियान अघि बढाउँदै आउनुभएको छ।
उहाँका अनुसार, दलित समुदायमा वैदिक विधिबाट सप्ताहदेखि व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायतका सयौँ धार्मिक कर्मकाण्ड सम्पन्न गराइसक्नुभएको छ। उहाँले अहिलेसम्म ३१ वटा सप्ताह, १४ वटा शिवपुराण, ६२ वटा लघु रुद्राभिषेक तथा विभिन्न १५१ भन्दा बढी धार्मिक अनुष्ठान सम्पन्न गर्नुभएको बताउनुभयो।
जिल्लाको प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका ज्योतिषाचार्य पन्तले यसअघि सांस्कृतिक कुरीति हटाउने उद्देश्यले आचार्य कृष्ण दमाईँसहित एक सय १४७ जना शिल्पी समुदायका व्यक्तिलाई जनै धारण गराउनुभएको थियो। त्यही क्रममा आचार्य दमाईँले पशुपति कोटिहोमको व्यासबाट प्रवचनसमेत दिनुभएको थियो।
धर्मग्रन्थमा दलित वा महिलामाथि विभेद नगरिएको भन्दै उहाँले समाजमा अझै कायम रहेका छाउपडी प्रथा, जातीय भेदभाव र धार्मिक असमानता अन्त्यका लागि धार्मिक अगुवाहरूले नेतृत्व लिनुपर्ने बताउनुभयो। उहाँको भनाइमा, “सुदूरपश्चिममा अहिले पनि ब्राह्मणहरूले दलित बस्तीमा गएर न्वारन, विवाह वा व्रतबन्ध गर्दैनन्। चिहानघाटमा समेत जातीय विभेद हुने गरेको छ, जुन हटाउनै पर्छ।”
दलित बस्तीमा कर्मकाण्ड गर्दै उहाँ आफैंले भोजन ग्रहण पनि गर्नुभएको छ। उहाँले दलित समुदायभित्रै पनि परस्पर विभेद रहेको बताउँदै त्यसप्रति असन्तोष जनाउनुभयो। “एक दलित समुदायले अर्को दलित समुदायको पानी–भान्सा नचलाउने गरेको अवस्था म देख्छु, त्यो गलत हो,” उहाँले बताउनुभयो।
सन्ध्यापूजाका क्रममा अथर्ववेदको मन्त्रपाठ गर्दा कतिपयले ‘यो दलितको वेद हो’ भन्दै पानी भुइँमा खसाल्ने परम्परा अझै पनि रहेको बताउँदै उहाँले त्यसलाई गलत र अन्धविश्वासपूर्ण संस्कारको रूपमा व्याख्या गर्नुभयो। उहाँको भनाइमा, “मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाजजस्ता आविष्कारहरू अथर्ववेदकै ज्ञानको फल हुन्, त्यसैले त्यस वेदलाई तुच्छ ठान्नु मूर्खता हो।”
यस्ता कुरीति हटाउने अभियानका क्रममा उहाँका ५७५ जना पुराना यजमान छुटेका छन्। सामाजिक सञ्जालमार्फत तुच्छ गालीगलौजका घटनाहरू भोग्नुपरे पनि उहाँ आफ्नो धर्ममार्गबाट विचलित हुनुभएको छैन। उहाँले दलितमाथि विभेद गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग पनि गर्नुभएको छ।
उहाँले भन्नुभयो, “धर्मशास्त्रको आधारमा महिला र पुरुष दुई मात्र जात हुन्, अन्य कुनै जात हुँदैन। मनुस्मृतिजस्ता विभेदकारी ग्रन्थहरू संशोधन हुनुपर्छ।”उहाँको दीर्घकालीन योजनाअनुसार प्रत्येक हिन्दूको घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मट, शङ्ख–घण्ट र पाञ्चायन देवताहरूको अनिवार्य स्थापना गराइनेछ।
बझाङमा पनि धार्मिक समावेशिताको अभियान
संस्कार शिरोमणी पन्तले हाल बझाङ जिल्लामा पनि आफ्नो समावेशी धार्मिक अभियान विस्तार गर्नुभएको छ। उहाँले दलित सहयोग समाजको समान व्यवहार परियोजना मार्फत असोज २८ गते बुङ्गल नगरपालिका–११ पुतलीलेक र असोज ३० गते वडा नं ९ देउलीकोटमा दलित सहित सबै समुदायका मानिसहरूको सहभागितामा धार्मिक प्रवचन कार्यक्रम गर्नुभएको छ।
उहाँले शुक्रबार (असोज ३१ गते) बुङ्गल नगरपालिका–६ कफलसेरीमा पनि यस्तै धार्मिक प्रवचन कार्यक्रम गर्ने तयारी गर्नुभएको छ। ती कार्यक्रमहरूमा उहाँले जातीय विभेद अन्त्य, छाउपडी निर्मूल तथा धार्मिक एकता र मानव धर्मको महत्वबारे प्रवचन दिइरहनुभएको छ।
उहाँका अनुसार, “धार्मिक अगुवाहरूले नै समाजमा रहेको असमानता हटाउन नेतृत्व लिनुपर्छ। धर्मले कसैलाई विभेद गर्न भन्दैन, बरु सबलाई जोड्ने शिक्षा दिन्छ।”
उहाँसँग धार्मिक कार्य वा कार्यक्रमका लागि ९८६०२७८१०० मा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।
























