कर्ण धामी- बुङलमा जारी मेयर कप बझाङ जिल्ला स्तरीय U-19 पुरुष क्रिकेट छनौट प्रतियोगिताको चौथो दिन आज तीन खेल सम्पन्न भएका छन्। आगामी U-19 पुरुष क्रिकेट प्रतियोगिताका लागि बझाङ जिल्लाको टिम छनोट गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन भइरहेको हो। आजको पहिलो खेल खप्तडछान्ना गाउँपालिका र बुङल नगरपालिका बीच भएको थियो। टस जितेर ब्याटिङ रोजेको खप्तडछान्ना गाउँपालिकाले ९४ रन बनाउँदै अलआउट भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बुङल नगरपालिकाले सहज रूपमा लक्ष्य पूरा गर्दै जित हात पारेको छ। दोस्रो खेल जयपृथ्वी नगरपालिका र दुर्गाथली गाउँपालिका बीच सम्पन्न भएको थियो। टस जितेर ब्याटिङ गरेको जयपृथ्वी नगरपालिकाले ८७ रन बनाएको थियो। उक्त लक्ष्य पछ्याएको दुर्गाथली गाउँपालिकाले १० ओभरमै लक्ष्य पूरा गर्दै जित हात पारेको छ। लिग चरणको अन्तिम खेल केदारस्युँ गाउँपालिका र तलकोट गाउँपालिका बीच भएको थियो। केदारस्युँ गाउँपालिकाले ब्याटिङ गर्दै ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा तलकोट गाउँपालिकाले १६.२ ओभरमा लक्ष्य पूरा गर्दै जित हासिल गरेको छ। प्रतियोगिताअन्तर्गत फाइनल खेल भोलि बिहान ७ बजे तलकोट गाउँपालिका र दुर्गाथली गाउँपालिका बीच हुने तालिका रहेको क्रिकेट संघका अध्यक्ष प्रबिन्द्र धामीले जानकारी दिनुभयो।
प्रतिक्रिया जनाउनुहाेस्






















