बुङ्गलमा कात्तिक १४ देखि पाँचौँ मेयर कप क्रिकेट प्रतियोगिता हुने

Image

बझाङ, । बझाङको बुङ्गल नगरपालिकामा यही कात्तिक १४ गतेदेखि पाँचौँ मेयर कप जिल्ला पालिकास्तरीय खुला पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । बुङ्गल नगरपालिका खेलकुद समितिको आयोजनामा विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता कात्तिक १४ देखि १८ गतेसम्म बुङ्गल नगरपालिका–४, झापा स्थित कन्या माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने बुङ्गल नगरपालिका खेलकुद समिति अध्यक्ष शेर बहादुर कुवरले बताउनुभयाे ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कात्तिक १० गते बिहान ९ बजेदेखि कात्तिक १४ गते बिहान ९ बजेसम्म नाम दर्ता गराउन सक्नेछन् । टोली दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख ३३ हजार ५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीलाई ६६ हजार ७५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये ‘म्यान अफ द सिरिज’लाई छ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा प्रत्येक गाउँपालिका वा नगरपालिकाबाट बढीमा दुई टोलीले सहभागिता जनाउन पाउनेछन् । सहभागी टोलीले सम्बन्धित पालिकाको सिफारिसपत्र पेस गर्नुपर्नेछ भने खेलाडीले आफ्नो पालिका खुल्ने परिचयपत्र वा आवश्यक कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ । टेनिस बलबाट खेलाइने प्रतियोगितामा एलबी डब्ल्यूबाहेक क्रिकेटका अन्तर्राष्ट्रिय नियम लागू हुने आयोजकले जनाएको छ । प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीको प्रतिभा पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन