बित्थडचिरमा प्रथम वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने

Image

बझाङ । बित्थडचिर गाउँपालिका–७ नं. वडा कार्यालय, धामीगाउँले बडादशैंको अवसरमा “प्रथम वडा अध्यक्ष कप, बित्थडचिर गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ। युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि, प्रतिभावान खेलाडीको पहिचान तथा स्थानीयस्तरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ। प्रतियोगिता २०८३ साल कार्तिक १० गते बित्थडचिर गाउँपालिका–७ स्थित सुवाकोट चौरमा सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक वडा, क्लब तथा संघ–संस्थाले कार्तिक ९ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क रु. ३,५०० तोकिएको छ। प्रतियोगितामा FIVB को नियमअनुसार खेल सञ्चालन गरिनेछ। सहभागी खेलाडीले आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ भने खेलाडीहरू नम्बर सहितको खेल जर्सीमा उपस्थित हुनुपर्नेछ। खेलाडीहरूको खान–बस्न तथा चोटपटक लागेमा उपचारको व्यवस्था सम्बन्धित व्यक्ति वा टिम स्वयंले गर्नुपर्नेछ। प्रतियोगिताका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजक तथा रेफ्रीको निर्णय नै अन्तिम हुने वडा कार्यालयले जनाएको छ।

प्रतियोगिताको प्रथम पुरस्कार रु. १,०१,७७७ सहित कप, मेडल तथा प्रमाणपत्र रहेको छ। त्यस्तै द्वितीय पुरस्कार रु. ५१,७७७ सहित कप, मेडल तथा प्रमाणपत्र र तृतीय पुरस्कार रु. २५,७७७ सहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर तथा उत्कृष्ट प्रशिक्षक (कोच) लगायतका विधागत पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ। वडा अध्यक्ष दिनेश बहादुर अधिकारीले प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्थानीयस्तरमा रहेका प्रतिभावान खेलाडीको पहिचान र विकास गर्नु रहेको बताउनुभयो। उहाँले प्रतियोगिताले युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै बित्थडचिरमा भलिबल खेलको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। वडा अध्यक्ष अधिकारीले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलाडी, क्लब, संघ–संस्था तथा स्थानीयवासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै इच्छुक टिमलाई प्रतियोगितामा उत्साहपूर्वक सहभागी हुन आग्रह गर्नुभयो।

यसैगरी वडा सचिव कलक धामीले प्रतियोगिताका लागि आवश्यक तयारी तथा व्यवस्थापन भइरहेको जानकारी दिँदै इच्छुक वडा, क्लब तथा संघ–संस्थालाई निर्धारित समयभित्र टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गर्नुभएको छ। उहाँले प्रतियोगितासम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि वडा कार्यालयमा सम्पर्क गर्न सकिने बताउनुभयो। प्रतियोगिताका लागि थप जानकारी तथा टिम दर्ताका लागि ९८६५५७८८०२, ९८४८६२५७३३ र ९८६८८४६४१३ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन