बझाङ । बझाङको माटोमा जन्मिएर भलिबल खेलमार्फत जिल्ला हुँदै राष्ट्रको पहिचान अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन योगदान दिएका यू–१९ राष्ट्रिय भलिबल टोलीका कप्तान तथा उदयमान खेलाडी सुरेश मल्ललाई नेपाल पत्रकार महासंघ बझाङ शाखाले बधाई तथा सम्मान गरेको छ।
खेलकुद क्षेत्रमा मल्लले पुर्याएको योगदानको कदर गर्दै आगामी खेल यात्राका लागि थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको नेपाल पत्रकार महासंघ बझाङ शाखाले जनाएको छ। “बझाङको माटोमा जन्मिएर भलिबलमार्फत जिल्ला र राष्ट्रको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउन योगदान पुर्याउनुभएको छ,” नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहले बताए।
राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका मल्लले बझाङको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको शिर उच्च राख्न महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनको खेल प्रतिभा र निरन्तरको मेहनतले बझाङका नयाँ पुस्ताका खेलाडीलाई समेत प्रेरणा दिएको छ। महासंघले मल्लको आगामी खेल यात्राको सफलताको शुभकामना व्यक्त गर्दै भलिबलको मैदानमा उत्कृष्ट प्रदर्शनमार्फत बझाङसँगै नेपालको नाम अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
बझाङको माटो, राष्ट्रिय टोलीको कप्तानी—सुरेश मल्लको खेल यात्राले जिल्लाको खेलकुद सम्भावनालाई पनि नयाँ पहिचान दिएको छ।























