बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ मा १५ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । घरबाट बेपत्ता भएको भोलिपल्ट स्थानीय जङ्गलमा उनको शव फेला परेको हो ।मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ का १५ वर्ष ६ महिनाका देवेन्द्र धामी रहेका छन्।
परिवारका अनुसार कात्तिक ५ गते साँझ घरनजिकैको पानीधारामा हात धुने क्रममा एक महिलाको नाम लिएको वि षयलाई लिएर विवाद भएको थियो ।
सोही क्रममा दुई जना महिलाले हातमा हँसिया लिएर लखेटेको र ज्यान मार्ने धम्की दिएको परिवारको आरोप छ। उक्त घटनापछि देवेन्द्र सोही दिन साँझदेखि बेपत्ता भएका थिए ।परिवार तथा आफन्तले खोजतलास गर्ने क्रममा कात्तिक ६ गते केदारस्युँ गाउँपालिका–७ स्थित कोटेलीको काठाबाटा भन्ने जङ्गलमा रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको मृतकका दाइ रमेशसिंह धामीले जानकारी दिनुभयो ।
घटनाको अघिल्लो दिन भएको भनिएको विवाद, धम्की र त्यसको भोलिपल्ट बालक मृत अवस्थामा फेला परेको घटनालाई परिवारले शङ्कास्पद मानेको छ । घटनाबारे निष्पक्ष छानबिनको माग गर्दै परिवारले आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएको जनाएको छ । मृतकका दाइ धामीले घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको परिवारले जनाएको छ
























