बझाङ । बुङ्गल नगरपालिका वडा नम्बर ७ का दिवंगत वडा अध्यक्ष टंकप्रसाद जोशीको पार्थिव शरीरमा नगरपालिकाका उपप्रमुख धनबहादुर बोहरालगायत जनप्रतिनिधि तथा कर्मचारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । खिरातडी स्वास्थ्य चौकीमा आयोजित श्रद्धाञ्जली तथा शोक सभामा राष्ट्रिय झण्डा ओढाएर दिवंगत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
शोक सभामा उपप्रमुख बोहराले वडा अध्यक्ष जोशीको निधनले नगरपालिका, स्थानीय समुदाय तथा समग्र नगरवासीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, जाेशीलाई बुंगल क्षेत्रको कम्युनिष्ट पार्टीको इतिहासमा एक कुशल, साहासी र समन्वयकारी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो । विषम परिस्थितिमा पनि सहजै समायोजन हुन सक्ने अदभुत नेतृत्वदायि क्षमता थियो । हरपल जनताका आवाज बुलन्द गर्ने र जनताकै काममा समर्पित भएकै कारण पनि जनताले दुईपटक वडाध्यक्षमा अनुमोदन गरेको स्मरण गर्दै जोशीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।
त्यस्तै शाेक सभामा बुंगल नगरपालिकाका प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष गणेश बहादुर कार्कीले जोशी इमान्दार कर्मठ, मिहेनेती र साहसी व्यक्तित्व रहेको बताउदै पालिकामा उहाँको आवस्यकता सधैँ खडकिरहने बताउनुभयो । उहाँले भन्नुभयाे, जोशी सदैब जनताको काममा समर्पित भई हामीलाई पनि आफ्नो पुरानो अनुभव सुनाउदै सजक गराउने काम गर्नुहुन्थ्यो । विकास निर्माण र सुसासनका पक्षमा जहिलेपनि खबरदारी गरिरहनु हुन्थ्यो तर अब हामीले त्यो आवाज कहिल्यै पनि सुन्न नपाउने भयौँ । हामीले वडाध्यक्ष मात्र होईन एक असल मित्र र अभिभावकिय भुमिका निर्वाह गर्न सक्ने व्यक्तित्व गुमाएको महसुस भएको छ ।
उक्त शोकसभामा नेपाली कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष अक्कल धामी, केदारस्युँ गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधि, थलारा, वित्थडचिर, छविसपाथीभेरा गाउँपालिकाका वडाध्यक्षहरु, बुंगल नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उपस्थित सबैले दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका थिए।
जोशीको हिजो कात्तिक ६ गते खर काट्ने क्रममा भिरमा लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । घटनापछि उहाँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल चैनपुर लगिएको थियो। पोस्टमार्टमपछि आज बिजगडामा श्रद्धाञ्जली अर्पण गरी पार्थिव शरीरलाई घरमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार जोशीको दाहसंस्कार भोलि बिहान ९ बजे गरिनेछ । जोशी २०७४ सालमा नेकपा एमालेबाट र २०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए । उहाँ दुई कार्यकाल वडा अध्यक्ष बनेका थिए ।
























