बझाङ, । बझाङकाे बुंगल नगरपालिका-०४ मा रहेकाे त्रिवेणी आदर्श बहुमुखी क्याम्पसले अक्षय कोष निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरेको छ । क्याम्पसको वार्षिक साधारणसभाको अवसरमा मंगलबार आयोजित कार्यक्रममा दातालाई सम्मान-पत्र र मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको क्याम्पस प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष कलक कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व भौतिक योजना तथा निर्माण मन्त्री डा. सुरेशबहादुर मल्ल, विशिष्ट अतिथिका रूपमा बुङ्गल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामी तथा पूर्वनगर प्रमुख धनबहादुर बिष्टसहित विभिन्न राजनीतिक दलका नेता, शिक्षक तथा समाजसेवीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पूर्वमन्त्री डा. मल्लले क्याम्पसको अक्षय कोष निर्माणमा सहयोग गर्ने दाताप्रति आभार व्यक्त गर्दै शिक्षा क्षेत्रको सुधारबिना देशको विकास सम्भव नहुने बताउनुभयो । कमजोर शैक्षिक प्रणालीका कारण बौद्धिक पलायन बढ्दै गएको उल्लेख गर्दै उहाँले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षा प्रणालीको पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वनगर प्रमुख बिष्टले अर्थले पुँजी, उद्योगले व्यवसाय र शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकेमात्र देशको विकास सम्भव हुने बताउँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले बुङ्गलमा पूर्वनगर प्रमुखका रूपमा सुरु गरिएका क्याम्पस तथा अनाथालयजस्ता सामाजिक कार्यले स्थानीयस्तरमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
त्यस्तै नगर प्रमुख जयबहादुर धामीले बुङ्गलको शैक्षिक तथा सामाजिक विकासका लागि सुरु गरिएका त्रिवेणी आदर्श बहुमुखी क्याम्पस र अनाथालयलाई नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेर दुवै संस्थालाई अनुदान उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो । क्याम्पसमा विद्यार्थी भर्नाको अवस्था राम्रो रहे पनि कक्षामा विद्यार्थीको नियमित उपस्थिति न्यून रहेको भन्दै नगर प्रमुख धामीले विद्यार्थीलाई नियमित क्याम्पस आउने वातावरण बनाउन सके क्याम्पस सञ्चालनमा थप सहजता हुने बताउनुभयो ।
क्याम्पस प्रमुख डम्बरबहादुर कार्कीले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले अक्षय कोष निर्माणलाई अघि बढाइएको बताउनुभयो । उहाँले दाताहरूको सहयोगले क्याम्पसको दीर्घकालीन सञ्चालन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न थप आधार तयार भएको बताउनुभयो । कार्यक्रममा क्याम्पसको वार्षिक गतिविधि, शैक्षिक अवस्था तथा आगामी योजनाबारे समेत छलफल गरिएको थियो ।
























