बझाङको बुंगल नगरपालिका–१ गोइचनस्थित हरिश्चन्द्र आधारभूत विद्यालयको खेलमैदान जनश्रमदानमार्फत मर्मत कार्य सुरु गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम ब. बोहराको संयोजनमा आजदेखि वर्षायामको पहिरोले क्षति पुर्याएको विद्यालयको फिल्ड पुनःनिर्माण तथा मर्मत कार्य थालिएको हो।

उक्त श्रमदान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य सुनिल बोहरा, महिला सदस्य रमिला बोहरा, शिक्षक अभिभावक संघका अध्यक्ष रणसिंह बोहरा, अन्य पदाधिकारी, अभिभावक तथा युवा समूहको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
दशैं–तिहारको बिदा मनाउन गाउँ फर्किएका विद्यार्थी र कर्मचारीहरूले आफ्नो बिदा समयको सदुपयोग गर्दै सामाजिक भावनाको विकास होस् भन्ने उद्देश्यले श्रमदान कार्यक्रम सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहराले बताउनुभयो।
यस्तै स्थानीय राम बोहरा श्री रामका अनुसार भोलि असोज २१ गते पनि विद्यालयको फिल्ड निर्माणका लागि जनश्रमदान कार्य निरन्तर सञ्चालन हुने भएकाले सबै अभिभावकलाई सहभागिताका लागि आग्रह गरिएको छ।
























