बझाङ । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसले बालबालिकालाई प्रयोग गरेको फाेटाेहरू सामाजिक संजालमा भाइरल भएका छन् । बझाङकाे साइपाल गाउँपालिका–४ धुलीमा स्थानिय नेता कार्यकर्ताहरूले प्रचार अभियान चलाइरहेका बेला बालबालिकाको हातमा पार्टीको झण्डा थमाएर फोटो खिची सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विषय बाहिर आएको हो। सामाजिक सञ्जालमा सार्वजनिक तस्वीरमा स्कुले उमेरका देखिने बालबालिकाले पिठ्युमा झाेला र काँग्रेसको झण्डा बोकेको अवस्थामा देख्न सकिन्छ।
स्थानीयस्तरमा उक्त गतिविधिप्रति आलोचना सुरु भएको छ। निर्वाचन आचारसंहितामा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ। नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाश रसाइली ‘स्नेही’ बझाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । यस विषयमा आचारसंहिता अनुगमन अधिकृत तथा बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले आफूलाई यसबारे औपचारिक जानकारी नआएको बताइन् । ´यो विषयमा आधिकारिक रूपमा जानकारी आएको छैन ।` उनले भनिन्, ´अब बुझेर आवश्यक कदम चाल्छौँ ।` नेपाली काँग्रेस साइपाल गाउँकार्यसमिति सभापति रामबहादुर बोहरा र जिल्ला कार्यसमिति प्रवक्ता रमानन्द जोशीले पनि घटनाबारे आफूहरूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । बाेहराले भने, ´ती फेक एआइ निर्मित फाेटाेहरू हुन् ।` प्रवक्ता जोशीले भने, ´यदि आचारसंहिता विपरीत कार्य भएको हो भने सुधार गर्छाै । हामी बुझ्दै छाै ।` निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा बालबालिकालाई निर्वाचन प्रचारमा सहभागी गराउन, प्रयोग गर्न वा राजनीतिक गतिविधिमा संलग्न गराउन निषेध गरिएको छ । स्थानीयस्तरमा भने निर्वाचनको सरगर्मी बढ्दै जाँदा आचारसंहिताको पालना प्रभावकारी रूपमा हुनुपर्ने आवाज उठ्न थालेको छ।
























