बझाङको बुंगल नगरपालिका–स्थित त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा ‘महिला हिंसा विरुद्धको अभियान, स्वतन्त्र विद्यार्थी युनियनको चाहना’ भन्ने नारासहित दुई दिने आत्मरक्षा तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सम्पन्न उक्त तालिममा त्रिवेणी क्याम्पस र माध्यमिक विद्यालयमा अध्ययनरत २५ जना छात्राहरूको सहभागिता रहेको थियो। प्रशिक्षण निर्मला थापा र सबिन रावतले दिएका थिए।
तालिमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियनका सभापति चन्द्र बोहराले गरेका थिए। उनका अनुसार समाजमा बढ्दो महिला प्रति हिंसा, हत्या, बलात्कार, दुर्व्यवहारजस्ता नकारात्मक घटनाबाट बच्न र आवश्यकतामा आफैँलाई सुरक्षित राख्न सक्ने क्षमता विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
दुई दिनसम्म सञ्चालन भएको तालिममा सहभागी छात्राहरूलाई आत्मरक्षाका आधारभूत सीपहरू, संकटको समयमा अपनाउनुपर्ने व्यवहार, सजगता तथा आत्मबल अभिवृद्धि गर्ने विधिहरू सिकाइएको थियो। तालिमले छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै सुरक्षा चेतना जागृत गराएको सहभागीहरूले बताएका छन्।
यस किसिमको तालिम निरन्तररूपमा सञ्चालन गर्दै लैजानु पर्ने आवश्यकता रहेको सहभागी र आयोजक दुवैले बताएका छन्।
























