बझाङ -बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ८ स्थित समाजसेवी, सहयोगी तथा मिलनसार व्यक्तित्वका रूपमा चिनिने स्थानीय तथा श्री महादेव मा.वि. अठपालीका भूपू शिक्षक मान बहादुर बोहराले आफ्नो जन्मदिन विशेष किसिमले मनाएका छन्।
उहाँले नव युग प्राथमिक विद्यालय, शङ्करखोलाका कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री (कापी, कलम) वितरण गरी जन्मदिन मनाउनु भएको हो। जन्मदिनको मिति हिजो परेपनि औपचारिक कार्यक्रम शुक्रबार आज आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सोही अवसरमा विद्यालय नजिकैको पुल छेउमा बाढी र पहिरोले क्षति पुर्याएको बाटो मर्मत तथा सरसफाइ कार्यसमेत सम्पन्न गरिएको नव युग प्राथमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर बोहराले जानकारी दिनुभयो।
कार्यक्रममा सक्रिय सहभागिता जनाउने सम्पूर्णलाई भूपू शिक्षक मान बहादुर बोहराले हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो। साथै उनले सबैले आफ्नो जन्मदिन मनाउदा फजुल खर्च गर्नु भन्दा रचनात्मक कार्य मा खर्च गर्न हुन समेत अनुरोध गर्नु भएको छ ।

























