बझाङ — बझाङको बित्थडचिर गाउँपालिका–९, सुनकुडामा दोस्रो DPS Nepal Gold Cup २०८३ खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। डुम्राकोट प्रगतिशील समाज (DPS Nepal) को आयोजनामा बडादशैं, शुभ दीपावली तथा छठ पर्वको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। “खेलकुदतर्फ युवा, दुर्व्यसनमुक्त समाज” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता २०८३ साल कार्तिक ७ गतेदेखि ९ गतेसम्म सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता ९–ए साइड फुटबल तथा नकआउट प्रणालीमा खेलाइनेछ भने खेलहरू अखिल नेपाल फुटबल संघ (ANFA) को प्रचलित नियमअनुसार सञ्चालन हुनेछन्। प्रतियोगितामा बित्थडचिर गाउँपालिकाभित्रका वडा स्तरीय टोलीहरू सहभागी हुन सक्नेछन्।
टिम गठन गर्दा सहभागी खेलाडीहरू एउटै वडाका हुनुपर्ने व्यवस्था गरिएको छ। एउटै वडाबाट एक वा एकभन्दा बढी टोलीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। त्यस्तै, बित्थडचिर गाउँपालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक तथा सामाजिक नेतृत्व, कर्मचारी, शिक्षक तथा विद्यालय/क्याम्पसका कर्मचारीहरूका साथै बित्थडचिरका स्थायी बासिन्दा भई अन्य स्थानमा कार्यरत कर्मचारी तथा शिक्षकहरू समेत सहभागी हुन सक्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने टोलीले रु. ३ हजार दर्ता शुल्क बुझाउनुपर्नेछ। टिम दर्ताको अन्तिम मिति कार्तिक ६ गते बेलुका ५ बजेसम्म तोकिएको छ। दर्ता अनलाइन वा आयोजकले तोकेका पदाधिकारीमार्फत गर्न सकिनेछ। प्रतियोगिताको पहिलो खेल कार्तिक ७ गते बिहान ९ बजे सुरु हुनेछ। टिममा ९ जना मुख्य खेलाडी, २ जना अतिरिक्त खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक रहनेछन्। प्रत्येक खेलाडीले पहिचान खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ। प्रतियोगिताको विजेताले रु. २५ हजार ८३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. १२ हजार ५८३ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र ऊर्जावान खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।
DPS Nepal का अध्यक्ष कपिल बिष्ट सरकारले प्रतियोगिताले बित्थडचिर गाउँपालिकाभित्रका विभिन्न वडाका खेलाडीलाई एउटै खेलकुद मञ्चमा जोड्ने, स्थानीय प्रतिभालाई अवसर दिने र युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्दै सकारात्मक तथा सिर्जनशील गतिविधिमा जोड्ने उद्देश्य रहेको बताउनुभयो। उहाँले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलाडी, टिम, स्थानीय समुदाय, शुभेच्छुक तथा सम्बन्धित सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउँदै सहभागिताका लागि सबैलाई आग्रह गर्नुभयो। प्रतियोगिताको खेल तालिका तथा अन्य प्राविधिक जानकारी टिम दर्ता सम्पन्न भएपछि आयोजकले सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























