बझाङ : सदरमुकाम चैनपुरको खुलामञ्चमा नमुना स्वाब संकलन गरिएका एक जनामा कोरोना संक्रमण देखिएको छ । चैनपुरमा फार्मेसी सञ्चालन गर्दै आएका एक स्वास्थ्यकर्मी कोरोना संक्रमण देखिएपछि चैनपुरका २ सय ६ जनाको भदौ १८ गते कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो । सोही भीडमा थिए सोमबार देखिएका संक्रमित पनि ।
उनी एक महिना अगाडी भारतबाट आएर साविकको मालुमेला तथा थलारा गाउँपालिका ९ को एक क्वारेन्टाइनमा बसेर कोरोना रिर्पोट नेगेटिभ आउँदा घर फर्किएका थिए । घर फर्केपछि केही दिन अगाडी मात्रै कामको शिलशिलामा उनी चैनपुर आएर आफन्तसँग बसेका थिए । भदौ १८ गते कन्ट्रयाक्ट ट्रेसिङका क्रममा उनको पनि नमुना स्वाब संकलन गरिएको थियो । उनी थलारा ९ का एक १८ वर्षिय युवक हुन् ।
उनलाई संक्रमण देखिएपछि जिल्ला अस्पताल सिमखेतको आइसोलेसनमा राखिएको छ । उनलाई संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको पनि कन्ट्रयाक्ट ट्रेसिङ गरिने स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशिले बताए ।
के छ जिल्लाको अवस्था ?
लकडाउन सुरु भएको यता गत चैत ११ गतेदेखि भदौ १२ गतेसम्म बझाङमा ९ सय २१ जना नेपालका विभिन्न स्थानबाट र ११ हजार १ सय ४ जना भारतका विभिन्न शहरबाट भित्रिएको तथ्याङ्क स्वास्थ्य कार्यालय बझाङसँग छ । त्यसमध्ये ११ हजार २ सय १६ जना क्वारेन्टाइन बसेर घर फर्किएका छन् ।
अहिलेसम्म जिल्लामा ४ सय ३५ संक्रमित रहेका छन् । यी संक्रमितको सम्पर्कमा आएका ६ सय बढीको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म ६ हजार ३ सय १२ जनाको नमुना स्वाब संकलन गरिएको छ भने त्यसमध्ये ६ हजार १ सय ४३ रिर्पोट प्राप्त भएको छ । हाल ३७ महिला र ६० पुरुष आइसोलेसनमा रहे्का छन् । ३ सय ३६ जना भने निको भएर घर फर्किसकेका छन् ।