१५ औं बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झाेतामा उद्घाटन

Image

नरेश बिष्ट- बझाङ  जिल्लाको केदारस्यूँ गाउँपालिकास्थित झोता बजारमा आयोजित १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य (क्षेत्र नं. ‘क’) माननीय दमनबहादुर भण्डारीको पनि उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सविता खड्काले गर्नुभएको थियो।

समारोहमा जिल्लाका १२ वटै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद्यार्थी खेलाडीहरू र स्थानीय दर्शकहरूको समेत बाक्लो उपस्थिति देखिएको थियो।

उद्घाटन समारोहपूर्व सहभागी खेलाडीहरूले झोता बजारबाट भैरव माध्यमिक विद्यालयसम्म आकर्षक र्याली निकालेका थिए। समारोहमा राष्ट्रिय गान, आकर्षक मार्चपास, स्वागत मन्तव्य तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

समारोहमा उपाध्यक्ष मनिशा धामीले स्वागत मन्तव्य राख्दै भनिन्, “खेलकुदको माध्यमबाट विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास हुन्छ। यस्ता प्रतियोगिताले शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।

कार्यक्रमको औपचारिक उद्घाटन माननीय भानुभक्त जोशीले दीप प्रज्वलन गरी गर्नुभएको थियो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र देशभक्तिको भावना विकास गर्ने उल्लेख गर्दै ग्रामीण क्षेत्रमा लुकेका प्रतिभा उजागर गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, आफू निर्वाचित भएदेखि बझाङ जिल्लाको समग्र विकासलाई प्राथमिकता दिँदै आएको पनि स्पष्ट पार्नुभयो।

प्रतियोगिता प्रारम्भ हुनु पूर्व बुङल नगरपालिकाले आफ्नो कब्जामा रहेको शिल्ड जिल्ला खेलकुद विकास समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको थियो।

प्रतियोगिता अन्तर्गत विभिन्न खेल विधाहरू भोलिदेखि (सोमबार) सञ्चालन हुनेछन्। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जानकारी दिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्