नरेश बिष्ट – केदारस्युँ गाउँपालिका अन्तर्गत रायल प्राथमिक स्वास्थ्य केन्द्रमा नर्वेजियन राजदूतावास, UNFPA, तथा ADRA नेपालको सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा कुल १७२ जना महिलाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ६ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ भने ४ जनालाई रिङ पेसरी राखिएको छ। साथै, ४ जनामा पहिलो चरणको VIA Positive पहिचान भई आवश्यक उपचार तथा परामर्श प्रदान गरिएको छ।
शिविरको मुख्य उद्देश्य प्रजनन उमेर समूहका महिलाहरूको स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्नु रहेको थियो। तथ्यांकअनुसार नेपालमा हरेक दिन ४ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्। यस्तो गम्भीर अवस्थालाई ध्यानमा राख्दै महिलाहरूको स्वास्थ्य परीक्षण तथा उपचार सुनिश्चित गर्न शिविरको आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी, मेडिकल ADRA टिम तथा अन्य सहयोगी निकायहरूको उल्लेखनीय योगदान रहेको छ। यस्ता स्वास्थ्य शिविरहरूले महिलाहरूको जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

























