सुरेश धामी,बझाङ । चिसो बढेसँगै अस्थायी टहरामै बास बसिरहेका बझाङको बुङ्गल नगरपालिकाका भूकम्प प्रभावित समस्यामा परेका छन् । भुकम्प प्रभावितले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम अझै पाउन सकेका छैनन् ।
गत वर्ष असोज १६ र २० गते गएको भूकम्पले प्रभावितमध्ये केहीले गत फागुनमा र केहीले गत वैशाखमा पहिलो किस्ता रकम पाए पनि दोस्रो किस्ता रकम अझै नपाएका हुन् । बुंगल नगरपालिकाले भुकम्प प्रभावित १ सय ८७ परिवारलाई गत फागुन र बैशाखमा अस्थायी अवास निर्माणको पहिलो किस्ता वापत २५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर, दोस्रो किस्ता अझैसम्म नपाएको प्रभावितको गुनासो छ । भुकम्पले भत्काएका घर पुनर्निर्माण गर्न नसक्दा कतिपय प्रभावित अस्थायी टहरामै बस्न बाध्य छन् ।
चिसो बढेपछि टहरामा बस्न नसके पछि भुकम्पले चर्काएकै घरमा बस्न थालेको बुंगल २ रैसेल्लीका भूकम्प प्रभावित कर्ण जाग्रीले बताउनुभयो । अस्थायी आवास निर्माण गरी दोस्रो किस्ता भुक्तानीका लागी नगरपालिकामा सबै कागजात बुझाए पनि अझै नपाएको कतिपयको गुनासो छ । २ किस्तामा गरी ५० हजार रुपैयाँ दिने भनेको नगरपालिकाले दोस्रो किस्ता नदिँदा निर्माण सामग्रीको रकम तिर्न नसकेको बुंगल नगरपालिका ५ व्युनाडाका राम बहादुर बिकले गुनासो गर्नुभयो ।
बुंगल नगरपालिकाले भने समयमै अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० बमोजिम आवश्यक प्रकिया पुरा नगरेका कारण दोश्रो किस्ता भुक्तानी हुन नसकेको बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश कुंवरले बताउनुभयो । भूकम्पको १४ महिना बितिसक्दा पनि स्थानीय दोस्रो किस्ता रकम नपाउँदा प्रभावितले बनाउन थालेका अस्थायी आवास अधुरै छन् भने बनाएकाहरुले ऋण तिर्न पाएका छैनन् । घर आँगनकै सरकारले गरेको यो हेलचेक्र्याइँप्रति भूकम्प प्रभावितले आफुहरुको दुःख बुझ्न नसकेको प्रभावितको गुनासो छ ।