बझाङ: केहि दिनअघि सामाजिक सञ्जालमा एउटा अडियो क्लिप भाइरल भयो । अडियोमा छबिसपाथिभेरा गाउँपालिका-७ का नेकपाका कार्यकर्ता विष्णु धामीले स्थानीय किट्टी धामीलाई अपशब्द प्रयोग गरेर ‘पावर’ को धम्की दिएका थिए ।
के थियो घटना ?
गत आर्थिक वर्षमा छबिसपाथिभेरा- ७ मा प्रदेशको १५ लाख र २ लाखको श्रमदानमा बासुधारा पर्यटकीय पदमार्ग नामक योजना विनियोजित भएर सम्झौता भयो । टाठाबाठाले गुपचुपमै उपभोक्ता समिति गठन गरे । समितिको अध्यक्षमा विष्णु धामी र कोषाध्यक्षमा किट्टी धामी थिए ।
समितिले काम पदमार्गको काम सुरु गर्याे । तर, पदमार्गको कामको सम्पूर्ण गतिविधि अध्यक्षको एकलौटी निर्णय अनुसार अगाडि बढ्न थाल्यो । अध्यक्ष धामीले एउटा टोलबाट एकदिनमा ५ जना मात्रै सहभागी हुन पाउने निर्णय गरे । समितिका पदाधिकारी लगायत कोषाध्यक्ष धामीले उक्त निर्णय जनसहभागिताको पक्षमा नभएको भन्दै विरोध जनाए । कोषाध्यक्षको कारणले आफ्नो रणनीतिअनुसार काम नहुने भएपछि अध्यक्ष धामीले किट्टी धामीलाई कोषाध्यक्षबाट हटाइएको घोषणा गरे । यद्पि योजना सम्झौता गर्दा, भुक्तानी लिँदा किट्टी धामी नै कोषाध्यक्ष रहेको पुष्टि हुन्छ ।
‘योजनाको पैसा बचाउनको लागि अध्यक्ष धामीले ५ जना मात्रै सहभागी हुन पाउने निर्णयको विरोध गर्दा मलाई कोषाध्यक्षबाट हटाइयो,’ कोषाध्यक्ष धामीले भनिन् । योजनाको पैसा बचाउने नियतले आफूलाई कोषाध्यक्ष पदबाट जबर्जस्ती हटाइएको भन्दै धामीले गाउँपालिकाको न्यायिक समितिमा उपभोक्ता समितिको नाममा रहेको योजनाको खाता रोक्का गर्न उजुरी गरिन् ।
न्यायिक समितिको लाचार निर्णय, अनुगमन फिक्का
उपभोक्ता समितिले कार्यक्रम सम्पन्न गर्दा सार्वजनिक परीक्षण फारममा तोकिएको ढाँचामा भर्नु पर्ने हुन्छ । जसमा कति जनाले श्रमदान गरे? कुन-कुन निर्माण सामग्री प्रयोग भयो? कति रकम मौज्दात रह्यो? यी सबै विषय उल्लेख गर्नु पर्ने हुन्छ । तर, न्यायिक समितिले दुइटै पक्षलाई बोलाएर योजनाको रकम मौज्दात देखिएमा अन्य सार्वजनिक काममा लगाउनु भनी निर्णय गरेर पठायो ।
अनुगमन समितिले योजनाको स्थलगत निरीक्षण गरेर स्पष्ट रूपमा विवरण राख्नु पर्नेमा ‘रकम मौज्दात रहेमा’भन्ने वाक्य प्रयोग गर्यो यो आफैमा विरोधाभासपुर्ण छ ।
करिब ८ लाख मौज्दात रहेको कोषाध्यक्ष र स्थानीयको दाबी
उपभोक्ता समितिले जम्मा १८ दिन काम गरेको छ । कुनै पनि निर्माण सामग्री खरिद पनि गरेकाे छैन । रकम बचत भएकाले सम्झौतामा उल्लेख भए बमोजिमको २ लाख बराबर श्रमदान पनि गरिएकाे छैन । ७ लाखमै योजना सम्पन्न गरेको स्थानीय मानबहादुर धामी बताउँछन् । उनले भने, ‘मसँग योजनाको प्रत्येक दिनको हाजिरी, काम भएको दिन, उपस्थित कामदारको नाम, खर्चको विवरण छ । समितिले करिब ८ लाख सोझै बचत गरेको देखिन्छ ।’

न्यायिक समितिको निर्णय कार्यान्वयन गर्नुसभन्दा धम्की, बाहिरियो अडियो
न्यायिक समितिले गरेको मौज्दात रकम सार्वजनिक काममा लगाउने निर्णय कार्यान्वयन गर्नुपर्छ भनेर बारम्बार अध्यक्ष धामीलाई अनुरोध गर्दा पनि नमानेपछि कोषाध्यक्ष किट्टी धामीले इलाका प्रहरी कार्यालय बिसौनाचौरमा निवेदन दिइन् । प्रहरी टोली विवाद मिलाउन गाउँमै पुग्यो । तर, अध्यक्ष धामीले १ रुपैयाँ पनि बचत छैन भन्दै पावरको दम्भ देखाए । अडियोमा अध्यक्ष धामीले ‘भाडमा गयो त्यो समिति । जेजे गर्न सक्छ्स् गर । तेरो पावर मेरो हात भित्र छ ।’ शब्द बोल्दै भन्दै कोषाध्यक्ष धामीलाई ‘पावर’को धम्की देखाएको सुनिन्छ । जुन अडियो केहीदिन अघिदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । यस विषयमा बुझ्नका लागि अध्यक्ष धामीलाई पटकपटक फोन गर्दा पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन ।
बुबाको अडियो भाइरल भएपछि छोराद्वारा दुर्व्यवहार
सामाजिक सञ्जालममा बाहिरिएको अडियो भाइरल भएपछि उपभोक्ता समितिका अध्यक्ष धामीका छोरा शिव धामीले बझाङको रेडियो केदारमा कार्यरत सञ्चारकर्मी कर्ण धामीलाई गालीगलौजका साथै धम्की दिएका छन् । कर्णले भिडियो सेयर गरेपछि शिवले उनलाई फेसबुकमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएका हुन् । आफूलाई दुर्व्यवहार भएको भन्दै सञ्चारकर्मी धामीले शिवराज धामीविरुद्ध दुर्व्यवहारको जाहेरी दिने तयारी गरेका छन् ।
गाउँमा ‘पावर’को दम्भ
नेकपाका कार्यकर्ता भनेर चिनिने विष्णु धामीले विभिन्न विकास निर्माणका काममा ‘पावर’को दम्भ देखाउने गरेका स्थानीयले बताएका छन् । सो कुराको पुष्टि केही दिनअघि सार्वजनिक अडियोले पनि पुष्टि गर्छ । पावरकै भरमा उनले ८ वर्षदेखि गाउँस्थित धौलीगाड लघु जलविद्युत् आयोजनाको हिसाबसमेत सार्वजनिक नगरेको स्थानीय बताउँछन् । उनी सो जलविद्युत आयोजनाको स्थापनाकालदेखि कै अध्यक्ष हुन् ।

यद्यपि लघु जलविद्युतको मुलसमितिको कार्यकाल २ वर्षको रहेने प्रावधान छ । स्थानीयले बारम्बार जलविद्युतको आयव्यय सार्वजनिक गर्न माग गर्दासमेत धामीले नटेरेको स्थानीय बताउँछन् । विगतदेखि कै आयव्यय सार्वजनिक नहुँदा लाखौँ रकम दुरुपयोग भएको र करोडौंको लघु जलविद्युत लथालिङ्ग भएको स्थानीय बताउँछन् । हाल विधुतको मूल नहर भत्किएर बन्द रहेको छ भने घट्टे कुलोको पानीले विधुत् सञ्चालन गरिएको छ । एभरेष्ट दैनिक