धुर्व बिष्ट, बझाङ । बझाङको केदारस्युँ गाउँपालिकाको बागलथा देखि बुङ्गल नगरपालिका जोड्ने बाग्थाला विजगडा सडक खण्ड महिनौ देखी अवरुद्ध भएको छ । असार अन्तिम सातातिर परेको अविरल वर्षाका कारण केदारस्युँ गाउँपालिकाको धौलापहिरा ,चिउरारुख नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि सडकखण्डमा नियमित सञ्चालन हुने यातायातका साधन आवत जावतमा समस्या भएको छ ।
नियमितरूपमा विजगडा देखी जिल्ला सदरमुकाम चैनपुर जाने र बाहिर बाट बुंगल नगरपालिका आउने सवारी साधन सञ्चालन हुन सकेका छैनन् । आवश्यक काम पर्दा पालिका बाहिर जाने यातायातका साधनहरूले बिच बाटामा यात्री छोडेर फिर्ता हुनुपर्ने अवस्था रहेको स्थानीय राम बोहराले बताउनु भयो । बाटो अबरुद्ध भए पछि बुङ्गल नगरपालिका भित्रिने मालबाहक सवारी साधन र यात्रुबाहक गाडी विचबाटोमानै अलपत्र परेका छन । बीचबाटोमा समानको गाडी फेर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरूले नियमित रुपमा खाद्यान्न लगायतको सामानमा मूल्य वृद्धि गर्दै आएका छन ।
बजारमा दैनिक उपभोग्य सामानको अभाव हुँदै आएको र सामान पाइएपनि बजारमा निकै महङ्गी बढेको स्थानीयले बताएका छन् । नगरपालिका भित्र पेट्रोलियम पदार्थ लगाएत खाना पकाउने एलपी ग्यासको पनि अभाव भएको स्थानीय दिपक धामीले जानकारी दिनुभयो ।सडकखण्डमा गएको पहिरो स्थानीयको खेतमा पसेको छ । खेतमा पहिरो पस्दा स्थानीयबासीले यस अघि क्षतिपुर्तिको माग गर्दै सडक खाेल्न नदिने अडान राखेका थिए । सोही समस्याको समाधान गर्न बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलको रोहबरमा बुङ्गल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामी र केदारस्युँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहरा र स्थानीयको बिचमा छलफल भएर सहमति जुटेको थियो ।
बुंगल नगरपालिका र केदारस्युँ गाउँपालिका बिच भएको सम्झौतामा स्थानीयको खेतमा पहिरोले गरेको क्षतिपुर्ति बुंगल नगरपालिकाले दिने , केदारस्युँ गाउँपालिकाले पहिरोले भत्काएको स्थानियको खेतमा पुग्ने सिचाई नहर निर्माण गरिदिने र के.एस.कन्सट्रक्सन प्रा.लीले अवरुद्ध सडक खुलाउने त्रिपक्षीय सहमति भएको थियो । दुई पालिका र के.एस.कन्सट्रक्सन प्रा.ली बिच सडक खुलाउने सहमति भएपनि सम्बन्धित निकायहरूको बेवास्ताका कारण अझै सडक खुलाउन नसकिएको स्थानीयले बताएका छन् । सडक खुलाउने सम्बन्धी सहमति भएपनि निरन्तर परिरहेको वर्षाका कारण सडक अझै सुचारुहुन नसकेको हो ।
























