नेकपा बझाङले सबै आमसभा र भेला बन्द गर्ने

Image

बझाङ — नेकपा बझाङले सबै आमसभा र भेला बन्द गर्ने निर्णय गरेको छ । महामारीका बेला पनि चुनावको झल्को दिने गरी दलहरुले पार्टी प्रवेशको होडबाजी चलाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको भोलिपल्ट नेकपा बझाङले सबै आमसभा र भेला बन्द गर्ने निर्णय गरेको हो । नेकपाले बझाङमा शनिबारदेखि बैठक, सभा, सम्मेलन तथा धेरै मानिसहरु जम्मा हुने खालका भेटघाट कार्यक्रम पनि बन्द गर्ने निर्णय गरेको पूर्वमन्त्रीसमेत रहेका नेकपाका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज भानुभक्त जोशीले जानकारी दिए ।

उनले नेकपा नेताहरुले कुनै आमसभा गरेको नभई बाढी पहिरोपीडितलाई भेटघाट गर्न गाउँ गएको तर त्यही बेला पार्टी प्रवेश गर्नेहरुको लहर चलेकोले स्वागत गरेको बताए । भेटघाटका दौरान पनि भीडभाड बढेकाले सबै कार्यक्रम बन्द गर्नु परेको उनले बताए । ‘महामारीका बेला भीडभाड गर्नु हुँदैन भन्ने कुरामा हामी सचेत नै थियौं तर भने जस्तो नहुने रहेछ । भीडभाड भइहाल्दो रहेछ,’ उनले भने ‘त्यसैले सबैको सुझाव र जोखिमलाई मध्यनजर गर्दै भेटघाट कार्यक्रम पनि बन्द गर्ने निर्णय गरेका छौं ।’ नेकपाले सरकारको निणर्य र सबैको सुझावअनुसार अघि बढ्ने उनले बताए ।

पार्टीको यो निर्णयसँगै बाढी पहिरोको जोखिम भएका विभिन्न क्षेत्रमा अनुगमनमा गएका नेकपाका प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद, पूर्वमन्त्री, केन्द्रीय र जिल्लास्तरका नेताहरु गाउँमा कार्यक्रम नगरी जिल्ला फर्किन थालेका छन् ।नेकपाले भेला, आमसभा र भेटघाट कार्यक्रम बन्द गर्ने निर्णय गरे पनि कांग्रेसले भने आफ्ना पूर्वनिर्धारीत कार्यक्रमहरु नरोक्ने जनाएको छ । कांग्रेसले विभिन्न ठाउँमा हुने आमसभालाई भव्यरुपले सफल पार्न भन्दै उपस्थितिका लागि विभिन्न एफएम रेडियोमार्फत सूचनाहरु प्रसारणसमेत गरिरहेको छ ।

अधिवेशनको तयारी भएको हुनाले पार्टी नेताहरु संगठन निर्माणका लागि गाउँमा जाने तर सामाजिक दूरी कायम गरेर मात्रै सीमित उपस्थितिमा कार्यक्रम गरिने कांग्रेसका पूर्वजिल्ला सभापति सत्यराज भण्डारीले बताए । ‘अधिवेशनको माहोल भएकोले विभिन्न ठाउँमा कार्यकर्ताहरुले बोलाइरहेका छन् । हामीले सकेसम्म भेटघाटलाई सीमित बनाउनुस् भनिरहेका छौं,’ उनले भने । कान्तिपुर दैनिक

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन