सुदूरपश्चिम सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न आव्हान

कैलाली –सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजे  भित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको हो ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले  बताए ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपा  एक र स्वतन्त्र एक प्रदेश सभा सदस्य छन् ।

janahit ma jari sandesh
Masta R.M
Loading...