आज हरितालिका तीज पर्व

Image

आज हरितालिका तीज पर्व । हिन्दू पात्रो अनुसार प्रत्येक बर्षकोे भाद्रशुक्ल पक्षको तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी शिवपार्वतीको पूजाआराधना गरिन्छ । नेपाली हिन्दू महिलाले मनाउने महत्वपूर्ण पर्व हरितालिका तीजमा महिलाले व्रत बस्ने गर्दछन । राजा हिमालयले आफ्नी छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन पार्वतीले तपस्या गरिन् । लामो समयसम्म तपस्या गर्दा पनि मनोकामना पूर्ण नभएपछि पार्वतीले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन् । पार्वतीले गरेको व्रत यसै दिन पूरा भएको र व्रतको प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज उत्सव मनाउन थालिएको हो ।

हिन्दु महिलाहरुले आफ्नो शरीरको अवस्था अनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत बस्ने चलन छ । अविवाहित महिलाले सुयोग्य वर पाऊँ र विवाहितले आफ्नो पतिबाट पार्वतीलेझैं माया पाऊँ, भनेर तिजमा व्रत बस्ने गरेका छन । व्रतको अघिल्लो दिन भाद्र शुक्ल द्वितीयाका दिन राति ११ बजे अगावै दर खाने चलन छ । चेलीलाई माइतीले वा दिदीले बहिनीहरूलाई वा मावलीले चेलीभान्जीहरूलाई बोलाउने र दर खुवाउने गर्दछन् । तृतीयाका दिन बिहानै उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय विधान छ । यस दिन यथासम्भव पाटको कपडा लगाएर साँझपख पूजाकोठा वा मन्दिर वा पवित्र ठाउँमा शिवपार्वतीको पूजा गर्नुपर्छ । व्रतालुले आफूमा रहेको नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डित रूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै संकल्पपूर्वक दियो, कलश र गणेशको पूजा गरी बालुकामय उमामहेश्वरकोे विधिअनुसार पूजा गर्नुपर्ने व्रतराजमा उल्लेख छ ।

यसदिन दिनभर शिवालय गई शिवजीको दर्शनपूजन गर्ने, भजनकीर्तन गर्ने र नाचगान तथा रमाइलो गर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा प्रत्येक वर्ष व्रतालुहरूको ठूलो भिड लाग्ने गरेको छ । तर, यस वर्ष कोरोना (कोभिड–१९) संक्रमण तीव्र रूपमा बढेकाले सरकारले बुधबार रातिदेखि निषेधाज्ञा लागु गरेको छ । संक्रमणको डरले सामूहिक रूपमा भेला भएर दर खान र तीजमा विगतमा जस्तो जमघट गरी मनाउन सरकारले नै रोक लगाएको छ । आफ्ना परिवारका सदस्यसँगै घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेकाले यस वर्ष तीजको रमझम र चहलपहल देखिएको छैन ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन