बझाङ :-लगातारको वर्षाका कारण कालंगा नदीमा पानीको बहाव बढेपछि बुङ्गल नगरपालिका-४ विजगडास्थित कालंगा नदीको किनारमा रहेको बसपार्कसहित एक पानीघट्ट र बंगुर फर्म बगाएको छ ।
मनसुन भित्रिएसँगै लगातारको अविरल वर्षाका कालंगा नदीमा पानीको बहाव बढेपछि बुंगल नगरपालिकाको बिजगडा बजारलगायत बिजगडा पुल र बिराबगडमा रहेको पक्की भवन उच्च जोखिममा रहेका छन् । कलंगा नदीमा पानीको बहाव बढेपछि इलाका प्रहरी कार्यालय बुङ्गलले बाढी खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनारामा कटान सुरु गरेपछि बिजगडा बजारमा जोखिम बढ्न सक्ने भएकोले बिजगडा बजारका स्थानिय ब्यापारी त्रसित बनेका छन् ।
नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेपछि त्रसित बनेका बिजगडा बजारका व्यापारी पसलमा रहेको सामान जोगाउन लागिपरेका छन् भने कटानका कारण नदी किनाराका बस्ती र उर्बर भूमी जोखिममा परेका छन् । नदीमा बाढी आएकाले बिजगडा बजार मात्रै नभएर बुंगल नगरपालिकाका ५१ स्थान जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।
उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथिभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ । यस समयमा दाउरा काठ उतार्ने, माछा मार्ने जस्ता कार्य पनि नगर्न प्रशासनले आग्रह गरेको छ ।