बझाङ: नेकपा एमाले बझाङका नेता तथा खप्तड क्षेत्र पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । उनको प्रादेशिक अस्पताल डडेल्धुरामा उपचारको क्रममा निधन भएको हो । दुइ साता अघि कोरोनाको संक्रमण पुष्टी भएका रोकायालाई जिल्ला अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो । डडेल्धुरामा पनि उपचार सम्भव नभएपछि काठमाण्डौ लैजाने तयारी गर्दै गर्दा उनको बुधबार दिउसो निधन भएको हो । नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका रोकाया पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको बोर्ड सदस्य थिए ।
जिल्लामा इमान्दार र भद्र नेताको छवि बनाएका उनी हाल एमालेमा देखिएको विवादमा पनि मध्यमार्गी धारमा रहेका थिए । २०७४ सालमा भएको स्थानिय तह निर्वाचनमा खप्तड छान्ना गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी समेत रहेका रोकाया खप्तड छान्ना गाउँपालिकामा लोकप्रिय समाजसेवीको रुपमा पनि परिचित थिए । उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक असल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाअध्यक्ष भिम रोकायाले बताए ।
मिश्र रोकायाको असामयिक तथा अकल्पनीय निधनको खबरले सिंगो पार्टी नै स्तब्ध बनाएको र बझाङ्गको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेलाई अपुरणिय क्षति भएको एमालेले जनाएको छ ।