बैतडी ; बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो ।
प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबार सम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कार पछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन । बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको छ ।
जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझेर ११ बजे गोठलापानीबाट सेरासम्म शवयात्रा गरी सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिन लागेको भागरथीका काका शिवराज भट्टले बताउनुभयो भएको हो । गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो