मकरराज धामी, बझाङ – हेलिकप्टर मार्फत खप्तड घुम्न हेली टुर प्याकेजको व्यवस्था भएपछि यसबर्ष हिउँदे सिजनमा पनि खप्तडमा पर्यटकको हलपहल बढेको छ । हिँउदमा भारी हिमपात हुने भएकाले पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि खप्तड होमस्टे झिग्राना डोटीले हेलिकोप्टरमार्फत खप्तड पुराउने र त्यहाँ रमाउने प्याकेज ल्याएको थियो । होमस्टे धनगढी, दिपायल र झिग्रानाबाट हेलिकप्टरमार्फत खप्तड घुम्ने प्याकेज ल्याए पछि पर्यटकको संख्यामा वृद्धि भएको हो । हेली प्याकेज ल्याए संगै उच्च पदस्थ व्यक्ति देखि सर्वसाधारण व्यक्ति समेत खप्तड पुग्न थालेका छन । माघको दा्स्रो साता बाट सुरु भएको हेली टुर प्याकेज बाट अहिलेसम्म १ सय ३५ जनाले खप्तड भ्रमण गरिसकेको खप्तड होमस्टे झिग्रानाका सञ्चालक दीपकबहादुर खड्काले बताए ।
सुदूरपश्चिम प्रदेशको पर्यटनलाई नयाँ तरिकाले प्रवद्र्धन उद्देश्यले हेली टुर प्याकेजको कार्यक्रम ल्याइएको खडकाको भनाई छ । लामो समय देखी खप्तडको नाम चर्चामा मात्र आउने तर भौगोलिक कठिनाईका कारण सम्भावना हुदाँ हुदै पनि ओझेलमा पर्न थाले पछि हेली टुर प्याकेज ल्याएका हौँ । हेली टुरमा आन्तरिक पर्यटकको राम्रो आकर्षण देखियो । प्याकेज कार्यक्रम ल्याउदा यति धेरै मानिसहरू आउलान् भन्ने हामीले सोचेका थिएनौ । तर यो प्याकेजले खप्तडको पर्यटकीय महत्तवलाई प्रचारप्रसार गर्न पनि सहयोग पुगेको छ । उनले तराईमा हुस्सु लागेका कारण हेलिकप्टर उडानमा समस्या भए पनि दिपायल र झिग्रानाबाट उडाईएको उनको भनाई छ । हिँउदको सिजनमा यहाँ पर्यटक नै आउँदैनथे हेली प्याकेज ल्याए संगै पैदल बाट खप्तड आउनेको संख्या पनि बढेको खप्तडमा होटल सञ्चालन गरिरहेका बाजुराका लोक रावलको भनाई छ । पहिले हिँउदमा मानिस आउदैन थिए । हिँउदको महिनामा त करिब शुन्य नै हुन्थे अहिले दिनमा १०–१५ जना त आएकै हुन्छन । हिँउद लागे संगै अहिले सम्म दुई सयको हाराहारी पर्यटक खप्तड पुगेको उनको भनाई छ । माघ १४ देखि १८ गते सम्मको प्याकेज घोषणा भएपनि पर्यटकको चाप बढे पछि २५ गते सम्म लम्ब्याईएको थियो ।
खप्तड पुग्नका लागि दिपायलबाट प्रतिव्यक्ति १० हजार, झिंग्रानाबाट आठ हजार, अछामको साफेगर र बझाङको चैनपुरबाट १२ हजार तथा धनगडी बाट ३० हजारको प्याकेज थियो । हेली टुरको प्याकेज ल्याए संगै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, बोर्ड सदस्य कृष्णबहादुर महरा, नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईं, खप्तड क्षेत्र पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीम खड्कालगायतले खप्तड क्षेत्रको भ्रमण गरेका छन । खप्तड भ्रमणपछि पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले खप्तड क्षेत्र प्राकृतिक सुन्दरताका साथै अलौकिक र दर्शनीय भएकाले सबैले एक चोटी पुग्नै पर्ने गन्तव्य भएको बताए । उनले भने यसको प्रवर्द्धन गरेर प्रदेशले फाइदा लिन सक्ने अथाहा सम्भावना छ । सबै मिलेर यसको विकास र प्रवर्द्धन गर्नुपर्छ । यसमा मेरो अथक प्रयास रहनेछ । खप्तड क्षेत्रको प्रचार भएको भएपनि पर्यटकलाई थप आर्कषणका लागी पुर्वाधारको कमि छ । आवश्यक पुर्वाधारका लागी पहल गर्ने उनको भनाई छ । खप्तडका पाटनसम्म मोटरबाटो पु¥याउने, पाटनभित्र बाटोघाटो, संकेत चिह्नको व्यवस्था गर्ने, पर्यटकलाई सुविधा दिने हिसाबले होटलहरू स्थापना गर्न जग्गा भाडामा दिने र स्कीलगायतका खेलकुद गतिविधि पनि प्राथमिकता दिनुपर्ने पर्यटन अभियन्ता किशोर खडकाको भनाई छ । उनले भने खप्तड प्रकृतिको खजना हो भन्ने थाहा हुँदा हुँदै पनि उपयोगमा ल्याउन नसक्नु हाम्रो प्रदेशको दुभाग्र्य हो । मनमा भएका अशान्ति हटाउनु र प्रकृतिसँग रमाउनु छ भने एक पटक खप्तड घुम्नै पर्छ ।
खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी मानिन्छ । बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लाको सीमानामा पर्ने खप्तडमा २२ वटा घाँसे मैदान अर्थात् पाटन रहेका छन् । सुन्दर घाँसे मैदानमा पुग्नेवित्तिकै यात्रीको थकान मेटिन्छ । अनुसरा खप्तडको मुख्य आर्कषण भनेको त्यहाँका घाँसै मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर हुन् । यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको एक पवित्र ठाउँ पनि हो । यसका साथै खप्तड राष्ट्रिय निकुञ्जमा पाईने १ सय ३५ प्रजातीका फूल २ सय २४ प्रजातीका जडीबुटी, ५ सय ३७ प्रजातीका बनस्पती र २ सय ७० जातका चराचुरुङ्गी पनि पर्यटन मुख्य आर्कषणका मुख्य केन्द्र हुन । खप्तड घुम्नका लागि जेठ, असार देखि मङ्सिर सम्मको समय उपयुक्त मानिन्छ । चैत वैशाखमा खप्तड घुम्न गएमा रंगीविरंगी लालीगुराँस फुलेको देख्न पाइन्छ भने अहिलेको समयमा हिउँदे यामको दृश्य अवलोकन गर्न सकिन्छ । खप्तडको सबैभन्दा आकर्षक पक्ष हो गंगा दशहरा मेला । प्रत्येक वर्षको जेठ महिनामा यहाँ भव्य मेला लाग्ने गर्छ । प्रकृति प्रेमीलाई मात्र नभई, धार्मिक पर्यटकलाई समेत उपयुक्त गन्तव्यका रुपमा रहेको जानकारहरु बताउछन् ।