बित्थडचिर गाउँपालिकाको कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण (Live Streaming) गर्न तथा बैठकबाट भएका निर्णयहरू सार्वजनिक गर्न माग गर्दै युवा अभियन्ता कपिल बिष्टले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन्। जेठ २९ गते बुझाइएको ज्ञापनपत्रमार्फत गाउँ कार्यपालिकाको बैठक गाउँपालिकाको आधिकारिक फेसबुक पेज, युट्युब च्यानल वा वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

साथै, बैठकमा हुने छलफल तथा निर्णय प्रक्रियालाई नागरिकले प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने माग गरिएको छ। ज्ञापनपत्रमा स्थानीय सरकारको कामकारबाहीलाई थप पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन डिजिटल प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको उल्लेख गरिएको छ। सार्वजनिक सरोकारका निर्णयहरू समयमै गाउँपालिकाको वेबसाइटमा प्रकाशित गरी नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिइएको छ। युवा अभियन्ता कपिल बिष्टले कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण तथा निर्णयहरूको नियमित सार्वजनिकरणले सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण र नागरिक सहभागिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।उक्त ज्ञापनपत्र गाउँपालिका अध्यक्षसमक्ष बुझाइएको हो।

यसलाई स्थानीय तहमा पारदर्शिता र उत्तरदायित्व बढाउने सकारात्मक पहलका रूपमा हेरिएको छ।
























