निर्वाचनमा पैसा बाँडिएको आरोपपछि भएको विवादले लियो उग्र रूप

Image

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा  सदस्य उम्मेदवार  शैलेश सिंहले निर्वाचनका क्रममा पैसा बाँडेको विषयलाई लिएर लामो समयदेखि चल्दै आएको विवाद अन्ततः सुदूरपश्चिम प्रदेश अधिवेशन स्थलमै झडपमा परिणत भएकोे छ । प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार विवाद चर्किँदै जाँदा शुरुमा सिंहले बोहरा माथी हातपात गरेको आरोप लगाइएको छ ।त्यसपछि आफूलाई जोगाउन बोहरा प्रतिरक्षामा उत्रिएको र आफ्ना साथीहरुलाई बोलाएको बताइएको छ ।  घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् भने समर्थकहरूबीच पनि आरोप–प्रत्यारोप चलिरहेको छ। घटनामा संलग्न रास्वपा युवा नेता भरत बोहरा पक्षले सार्वजनिक गरेको विवरण अनुसार विवादको जड गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग जोडिएको छ । बझाङको बुंगल नगरपालिकामा चुनावी संयोजकको जिम्मेवारी सम्हालेका बोहराले निर्वाचन अभियानका क्रममा भएको खर्चको सम्पूर्ण हिसाब–किताब आफूसँग सुरक्षित रहेको बताएका छन् ।

उनका अनुसार निर्वाचनपछि उम्मेदवार शैलेश सिंहले विभिन्न सार्वजनिक स्थलमा आफूले पैसा खाएको आरोप लगाउँदै आएका थिए । आरोपको खण्डन गर्दै उनले खर्चको सम्पूर्ण विवरण देखाउन र आफ्नो जिम्मेवारी अन्तर्गत भएको खर्चको जवाफ दिन तयार रहेको बताए पनि विवाद समाधान हुन नसकेको दाबी गरेका छन् । उनले शैलेश सिंहले बुंगल क्षेत्रमा करिब ३० लाख रुपैयाँ खर्च भएको तर अपेक्षित मत नआएको भन्दै “यसभन्दा त मत सिधै किनेको भए बढी मत आउने थियो” भन्ने अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् ।

उक्त अभिव्यक्तिले मतदाताको अपमान गर्नुका साथै निर्वाचनमा पैसा बाँडिएको विषयलाई समेत संकेत गर्ने भएकाले त्यसप्रति आफूले आपत्ति जनाउँदै आएको उनको भनाइ छ । यही विषयलाई लिएर निर्वाचन पछिदेखि सम्बन्ध बिग्रँदै गएको र आफूलाई पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न नदिनसमेत विभिन्न तहमा दबाब सिर्जना गरिएको आरोप उनले लगाएका छन् ।
गत असार १ गते धनगढीस्थित रिद्धि–सिद्धि पार्टी प्यालेसमा आयोजित रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशनका क्रममा पुराना विषयमा छलफल हुँदा विवाद चर्किएको र त्यसपछि झडप भएको दाबी गरिएको छ । घटनामा दुवै पक्षका व्यक्तिहरू घाइते भएका छन् । घटनापछि घाइते गोविन्द धामी हिरासतमा रहेको तर शैलेश सिंहलाई तत्काल छोडिएको भन्दै सम्बन्धित पक्षले शक्तिको दुरुपयोग भएको आरोपसमेत लगाएको छ । साथै न्यायका लागि अदालत जाने तयारी भइरहेको जनाएको छ ।

यद्यपि, चुनावमा पैसा बाँडिएको आरोप तथा घटनाबारे शैलेश सिंहको आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । साथै सम्बन्धित निकायबाट पनि उक्त आरोपको पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन