सत्यराज सिंह ,बझाङ । साईपाल गाउँपालिकाले छाउगोठ भत्काएपछि छाउ भएका महिलाहरुलाई समस्या हुने गरेको छ । साईपाल गाउँपालिकाका अधिकांश स्थानमा चार पटक बनाएका छाउगोठहरु लगातार भत्काइएपछि महिलाहरु छाउ भएका बेला ओडार वा खुल्ला चौरमा बस्न बाध्य भएका छन् । पूर्ववत परम्परालाई मान्दै अएको साइपाल गाउँपालिकाका अधिकांश घरपरिवार छाउ भएका बेला महिलाले घर भित्र बस्न नमिल्ने दहि, दुध खान नमिल्ने आदि कुरामा विश्वास गर्छन्।
स्थानीय उजली बोहोराले भन्नुभयो, ‘छाउगोठमा बसे गाउँपालिकाले भत्काउछ घरपरिवारले देवता रिसाउँछन भनेर घर भित्र बस्न दिदैनन्, म छाउ भएको बेला कहिले ओडार त कहिलै खाली आकाशमा रात बिताउने गर्छु ।’ यो साइपाल गाउँपालिकाको मात्रै पिडा हैन बझाङ्गका अधिकांश ग्रामिण भेगमा महिलाहरुले यस्तो समस्या भोग्दै आएका छन् । साइपाल गाउँपालिकाका महिलाहरु छाउ भएका बेला खुल्ला आकाश तथा ओडारमा पाल हालेर बस्ने गरेका छन् । छाउपडी प्रथा उन्मुलन गर्न गाउँपालिकाले विभिन्न खाले जनचेतनामुलक कार्यक्रम तथा छाउगोठ भत्काउने अभियान सुरु गरे पनि महिलाहरुलाई झनै समस्या थपिदै गएको स्थानिय महिलाहरुको गुनासो छ । स्थानीयमा चेतना नहुँदासम्मछाउपडी प्रथा उन्मुलन नहुने साइपाल गाउँपालिकाका स्थानिय तिलक विकले बताउनुभयो । यता साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले छाउपडी प्रथामा केही सुधार आउछकी भनेर छाउगोठ भत्काइएको बताउनु भयो । बाहिर छाउगोठ नभएपछि घर भित्र बस्न सुरुवात गर्छन् की भनेरमात्र छाउगोठ भत्काएका उहाँको भनाइ थियो । छाउगोठ भत्काएर केहि ठाउँमा सुधार पनि भएको उहाँले बताउनु भयो । सबै ठाउँमा यसरी बाहिर बस्ने नगरेको उहाँको भनाइ थियो।छाउपडी प्रथामा मान्ने र नमान्ने दुई समुदाय
साइपाल गाउँपालिकामा बसोवास गर्ने दुई समुदायमा छाउ मान्ने र नमान्ने भएका छन् । साइपाल गाउँपालिकाको धुलीमा रहेका लामा, तामाङ समुदायहरु छाउभएको बेला घर भित्र बस्ने र अन्य जातीहरुले छाउभएको बेला छाउगोठ, ओडार, खुल्ला आकासमुनी बस्ने गरेका छन् । साइपाल गाउँपालिका धुलिकी पुजा तामाङले भन्नुभयो, ‘अन्यसमुदायमा छाउपडी प्रथा मान्ने देवता रिसाउने भनेर भन्छन् । देवताको बाटो छाउछुत गर्नु हुन्न भन्छन् । हामी पनी साइपालमै बस्छौ छाउभएको बेला घरभित्रै बस्छौ, दहि, दुध, महि, घिउ खान्छौ त्यस्तो केही हुँदैन । यो पुरानो परम्परालाई मानेर छोडेपछी केपो हुन्छ भनेर डरले छोड्न नसक्या प्रथा हो । देवताले विभेद गर्छ होला र ? हामी पनि साइपाल मै बस्छौ, केहि भएको छैन ।’
स्थानीय डोल्मा तामाङले साइपालको लाफडीमा रहेका ३५ घर जतिले छाउ भएका बेला पूजापाठ बाहेका सबै काम गर्ने घरभित्रै बस्ने गरेको बताउनु भयो । सोहि ठाउँमा बस्ने किडी रोकायाले पहिलादेखि चलिआएको रीति भएकाले मान्दै आएको तर, छाउगोठ भत्काइएकाले अहिले आफू खुल्ला आकाशमा वा ओडारमा बस्नु परेकाले साह्यै डर र समस्या हुने बताउनु भयो ।