बझाङः पछिल्लो समयमा बुङगल नगरपालिकाको विजगडामा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने क्रम बढेको छ । बुङगल नगरपालिकाको मुख्य व्यापारिक केन्द्र विजगडाले ठुलो बजारको रुप लिने क्रम बढे संगै सुविधायुक्त होटल संचालनमा आएका हुन । दुई महिनाको अवधिमा दुई सुविधा सम्पन्न होटल संचालनमा आएका छन । भदौको अन्तीम साता तिर होटल भ्यु टप संचालनमा आएको थियो भने कार्तिकको पहिलो साता देखि होटल भीआईपी एण्ड लज संचालनमा आएको छ । बुङगल क्षेत्रमा सुविधायुक्त होटल छैन । सबै जस्तापाताले बनाएका छन । बाहिर बाट आउने ग्राहकहरुले त्यस्ता होटलहरुमा सुरक्षित नठान्ने गरेका कारण बस्न नमान्ने भए पछि आफुले घर भाडामा लिएर होटल संचालन गरेको होटल भिआईपिका संचालक नरेस कुँवरले बताए ।
नगरपालिकामा विधुत नभएका कारण प्रत्येक कोठामा टिभी एसी सहितको सुविधा दिन सकिएको छैन । होटलको अन्य डेकोरेसन सहितको काम बाँकी भएकाले ग्राहकहरुको चाहनलाई मध्यनजर गर्दे होटलका सेवा सुविधा परिमार्जिज गर्दे जाने कुँवरको भनाई छ । संघ संस्थाका कर्मचारी र बुङगल घुम्न आउनेहरुले बसोबासका लागी सुविधायुक्त होटल नहुँदा बस्न समस्या हुने गरेको बताउदै आएका थिए ।
बजार क्षेत्रका अधिकांस होटल भाडामै छन । विजगडा बजार ग्रामिण क्षेत्रको बजार हो । अहिले विस्तारै बजारीकरण हुदै आएको छ । एकै चोटी लगानी लगाउन पनि गाह्रो हुने गरेको होटल भ्यु टपका संचालक कोमल जागरीले बताए । उनले भने हामीले विजगडा बजारमा भएका होटलहरु भन्दा सुविधायुक्त तरिकाले संचालनमा ल्याएका छा्रै । अहिले सामान्य तवरले सदरमुकामका होटलहरुको बराबर सेवा दिन सकिएको छ ।
२०७० सालमा विजगडा बजारमा साना सवारी संचालनमा आए संगै विजगडा बजार बुङगल क्षेत्रकै मुख्य व्यापारीक केन्द्रको रुपमा विकसित भएको थियो । विजगडा बजार बाट नगरपालिकाका विभिन्न वडाहरुमा सडक संजाल जोडिए संगै आवतजावत बढेको छ । सवारी साधनमा आउने यात्रुका कारण बजार क्षेत्रमा ग्राहकको चाप वृद्धि भएको छ । सुरुवाती चरणमा जस्तापाताले बनाएका पसल र होटलहरु विस्तारै परिवर्तन हुदै आएका छन । अझै पनि अधिकांस पसल तथा होटलहरु जस्तापातले नै बनेका छन । अहिले पक्की घरहरु बन्ने क्रम बढे संगै सुविधायुक्त होटल पनि थपिने क्रम बढेको हो ।