सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । शनिबार राति गएको पहिरोमा परि अझै २० जना बेपत्ता छन् । बेपत्ताहरुको आज बिहानै देखि खोजी कार्य सुरु भएको छ । पहिरोले बाह्रबीसे नगरपालिका ७ को भीरखर्कका १० र नागपूजे गाउँका ७ घर पुरिएका छन् ।सुरक्षाकर्मी र स्थानीय बासिन्दाले बेपत्ताहरुको खोजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घाइते तीन जनाको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । सिन्धुपाल्चोकमा गएको जेठ अन्त्यदेखि सुरु भएको मनसुनपछि लगातार बाढी पहिरो गइरहेको छ । भूकम्पले जमिनमा धाँजा फाटेको र थिलथिलो भएकाले मनसुनमा क्षति बढी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
मनसुन सुरु भएयताका तीन महिनामा सिन्धुपाल्चोकमा बाढी र पहिरोजन्य विपद्का २५ वटा घटना भएका छन् । सिन्धुपाल्चोकमा यो वर्ष पहिरो निम्तिएका सबै स्थान २०७२ सालकाे भूकम्पले हल्लाएकै क्षेत्रभित्र पर्छन् ।भूकम्पले हल्लाएर कमजोर बनेको भूभागमा भारी वर्षापछि पहिरो निम्तिएको देखिन् ।