बझाङ । बुङगल नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भएको लैङ्गिक हिंसा, छाउपडी प्रथा, बाल विवाह र जातीय छुवाछुत विरुद्धको धार्मिक प्रवचन कार्यक्रम वडा नम्बर ६ कफलसेरिमा सम्पन्न भएको छ ।
वडा नं ६ को कार्यालय र “दलित सहयोग समाज” अन्तर्गतको समान व्यवहार परियोजनाको संयुक्त आयोजनामा आज उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा प्रमुख प्रवचन संस्कार शिरोमणी ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त र वैदिक पुरोहित सुरेश सनातनी आचार्यले धार्मिक दृष्टिकोणबाट लैङ्गिक हिंसा, छाउपडी प्रथा, बाल विवाह र जातीय छुवाछुतजस्ता सामाजिक कुरीतिहरू अन्त्य गर्न सन्देशमूलक प्रवचन दिएका छन् ।
उनीहरूले वैदिक सनातन धर्ममा यस्ता सामाजिक कुरीति र विभेदको उल्लेख नभएको बताउँदै समाजले सिर्जना गरेका गलत अभ्यासका विरुद्ध सबैले एकजुट हुनुपर्नेमा जोड दिएका छन् । समान व्यवहार परियोजनाका परियोजना संयोजक भीम रसाईलीका अनुसार, धार्मिक, सामाजिक तथा सांस्कृतिक चेतना जगाउने यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउने र विभेदमुक्त समाज निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ ।


प्रतिक्रिया जनाउनुहाेस्
























