बझाङ – बुंगल नगरपालिका–३ कुवा गाउँका स्थानीयवासी अहिले खानेपानीको गम्भीर समस्यामा परेका छन्। करिब ३५ परिवार रहेको यस बस्तीमा, स्थानीय सरकारले खानेपानी योजना निर्माण नगरेका कारण समस्या वर्षौंयता समाधान हुन नसकेको हो ।
स्थानीय करण बोहराका अनुसार, गाउँमा पटक–पटक खानेपानीको माग गरे पनि चासो नदिएपछि, प्रत्येक परिवारबाट २ हजार रुपैयाँका दरले चन्दा उठाएर आगिचौड भन्ने ठाउँमा पानीको मुहान बनाइएको थियो। तर, घर–घरबाट उठाइएको रकममा बनेको खानेपानी योजना अहिले जिर्ण अवस्थामा पुगेको छ।
२०७८ सालमा स्थानीय सरकारले मुहानमा ट्यांकी निर्माण सुरु गरे पनि काम पूरा नगरेपछि ट्यांकी खुला रह्यो, जसका कारण स्थानीयहरू अहिले फोहोर पानी पिउन बाध्य भएका छन्। त्यसयता वडा सरकार र स्थानीय सरकार दुवैले कुनै ध्यान नदिँदा योजना बीचमै अलपत्र परेको बताइएको छ।
आगिचौडको एउटै ट्यांकीको पानी कुवा गाउँका ३५ परिवार मात्र नभई वडा कार्यालय, स्वास्थ्य केन्द्र खोल्लेक र गैतोला गरि तीन ठाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन्।
स्थानीय करण बोहरा भन्छन् – “घर–घरमा सिंहदरबार, गाउँ–गाउँमा सरकार भन्ने गरिन्छ, तर हाम्रो सरकार कहाँ छ? खानेपानी पाउन पनि कति मुस्किल भएको छ, कहिले समाधान होला हाम्रो समस्या?”
उनका अनुसार, २०५८ सालमा जलस्रोत कार्यालयले बनाएका धारा आजसम्म प्रयोग गर्नुपरेको छ। समस्या केवल कुवा गाउँमा मात्र नभई, अन्य गाउँमा पनि उस्तै रहेको र जनप्रतिनिधिहरू जनताको समस्या भन्दा पनि योजनाको भागबन्डामा व्यस्त रहेको आरोप उनले लगाए।

























