बझाङमा पिसिआर मेसिन आइपुग्यो, असोज पहिलो साताबाट नमुना परिक्षण हुने

Image

बझाङ : लामो समयको पर्खाइपछि बझाङमा पिसिआर मेसिन आज आइपुगेको छ । गत जेठमा बझाङका स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो। त्यसयता विभिन्न समयमा बझाङमा मेसिन पुग्ने हल्ला भएका थिए तर बाढी पहिरो र निषेधाज्ञा लगायतले मेसिन जिल्ला भित्र्याउन कठिनाइ भएको थियो ।

मेसिन ल्याउन सफल भए पनि अझैं असोज पहिलो साता कुर्नुपर्ने जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा सन्दिप ओखेडाले बताए । उनका अनुसार मेसिन ल्याए पनि मेसिन जडान गर्ने बायोमेडिकल इन्जिनियर हाल बैतडीको मेसिन जडानमा व्यस्त भएकाले तत्काल जडान नसकिने भएको हो । बैतडीमा सकिनासाथ इन्जिनियर बझाङ आउने र प्रयोगशाला तयारी अवस्थामा रहेकाले इन्जिनियर आएको ३-४ दिनमै मेसिन जडान गरि सक्ने प्रमुख डा ओखेडाले बताए । उनले भने,’हामीलाई विभिन्न ठाउँबाट अवरोध भयाे । समयमै स्थानीय तहबाट रकम जम्मा भएन । त्यसपछि दुई हप्ता टेण्डर प्रक्रियामै बित्यो । टेण्डर भइसकेपछि पनि ठेकेदारको अर्कै प्रक्रिया बाढी पहिरो लगायतले मेसिन समयमै ल्याउन सकिएन ।’

मेसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्राली काठमाडाैैसँग १ करोड २५ लाख ४२ हजार १०० भ्याटसहित सम्झाैता भएको थियो । मेसिन जिल्ला भित्रिएसँगै नमुना स्वाबको नतिजाका लागि हप्ताैसम्म कुर्नुपर्ने र सिमित रुपमा मात्रै नमुना स्वाब संकलन गर्नुपर्ने बाध्यता हटेको छ । अब स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको एक टोली समुदाय स्तरमा गएर नमुना स्वाब संकलन गर्ने जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डाक्टर मिलन खड्काले बताए । यस मेसिनले दिनमा २०० नमुना स्वाब परिक्षण गर्न सक्दछ ।

गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मेसिन किन्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार असार १ गतेभित्र मेसिन ल्याएर परीक्षण थाल्ने तयारी गरेको भए पनि नेपाल र चिनको सिमानाका केरुङमा बाढी पहिरो आउँदा करिब दुई साता मेसिन थन्किएको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दिप ओखेडाले बताए ।  मेसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०/१० लाख छुट्याएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन