बझाङ, भदाै ३१ बझाङको केदारस्युँ गाउँपालिकाको झोतामा युवाहरूका लागि क्षमता विकाससम्बन्धी ३ दिने तालिम मंगलबार सम्पन्न भएको छ । स्थानीय युवा परिषदलाई योजना तर्जुमा सम्बन्धी ज्ञान दिने उद्देश्यले आयोजित उक्त तालिम आइतबारदेखि सुरु भएको थियो । केदारस्युँ गाउँपालिकाको समन्वय, युएनएफपीएको सहयोग र पिसवीन नेपालको आयोजनामा भएको कार्यक्रममा २५ जना युवाहरूको सहभागिता रहेको थियो । तालिममा युवाको काम, योजना, नीति निर्माण प्रक्रियामा सहभागिता, यौन तथा प्रजनन स्वास्थ्य, साथै सामाजिक सञ्जाल तथा डिजिटल हिंसा लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।
केदारस्युँ गाउँपालिका युवा परिषद् तदर्थ समितिका अध्यक्ष प्रसान्त भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक शेरबहादुर विष्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रमुख अतिथि विष्टले राज्यका नीति निर्माण तह र स्थानीय योजना तर्जुमा प्रक्रियामा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताए । उनले भने, ´युवाहरूले अब पछाडि फर्केर हेर्ने होइन, नीति निर्माण र स्थानीय विकासका योजनाहरूमा आफ्ना स्पष्ट एजेन्डासहित अगाडि बढ्नुपर्छ । स्थानीय सरकार युवाहरूको क्षमता विकास र नेतृत्व वृद्धिका लागि सधैँ साथमा छ ।`
त्यसैगरी, तालिमका सहभागी धनराम बोहराले ३ दिने तालिमबाट डिजिटल हिंसा, यौन तथा प्रजनन स्वास्थ्य र स्थानीय तहमा योजना बनाउने तरिकाबारे महत्त्वपूर्ण ज्ञान हासिल भएको अनुभव सुनाए । उनले भने, ´यस अघि हामीलाई स्थानीय तहको नीति निर्माण प्रक्रिया र योजना तर्जुमाबारे धेरै कुरा थाहा थिएन। यो तालिमले हामीभित्र नेतृत्व गर्ने र स्थानीय योजनामा आवाज उठाउने आत्मविश्वास बढाएको छ ।` कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गोरख बहादुर सिंह र प्रशिक्षक प्रकाश उपाध्याय लगायतले पनि आ-आफ्नो धारणा राख्दै युवाहरूको क्षमता विकासले मात्रै समाज रूपान्तरणमा टेवा पुग्ने विचार व्यक्त गरेकाे थियाे ।
























