बझाङ । बझाङको बुङ्गल नगरपालिकाले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दुई लाख रुपियाँ सहयोग गर्ने भएको छ।
नगर कार्यपालिकाको सोमबार बसेको बैठकले नगरपालिकाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको नगरपालिकाका नगर प्रवक्ता गणेश कार्कीले जानकारी दिनुभयो ।बैठकले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।
साथै, विपद्को समयमा पीडित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाका जनप्रतिनिधिले प्राप्त गर्ने एक महिनाको सेवा–सुविधाको १० प्रतिशत रकमसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो। नगरपालिकाले विपद्का कारण प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त निर्णय गरिएको जनाएको छ।























