बझाङ, भदौ ७
मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्ती तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको आठौँ वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
यस वर्षको जयपृथ्वी पत्रकारिता पुरस्कार पत्रकार भूमिराज पिठातोलीलाई प्रदान गरिएको छ भने नरेश स्मृति पत्रकारिता पुरस्कार पत्रकार सत्यराज सिंहलाई प्रदान गरिएको हो । पत्रकारितामार्फत सत्य, तथ्य र निष्पक्ष सूचनाको सम्प्रेषण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सामाजिक जागरण, सुशासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिंहलाई नरेश स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष ललित सिंहले बताए ।
पुरस्कार प्रदान गर्दै महासंघले पिठातोली र सिंहले समाजमा सकारात्मक चेतना अभिवृद्धि, नागरिक अधिकारको संरक्षण तथा उत्तरदायी पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेको छ। महासंघले आगामी दिनमा पनि निष्ठा, निर्भीकता, व्यावसायिकता र जनउत्तरदायी पत्रकारितालाई निरन्तरता दिन शुभकामना व्यक्त गरेको छ।
यसैगरी, जयपृथ्वी संस्थागत पत्रकारिता पुरस्कार रेडियो बुंगललाई प्रदान गरिएको छ। पत्रकारिता क्षेत्रको विकास, सूचना सम्प्रेषण तथा समाजमा सकारात्मक चेतना अभिवृद्धिमा पुर्याएको योगदानको कदरस्वरूप संस्थागत पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ।सोही अवसरमा अग्रज पत्रकारहरूलाई समेत सम्मान गरिएको थियो ।
राजा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा स्थापना गरिएका यी पुरस्कारले बझाङमा सक्रिय पत्रकार, सञ्चारमाध्यम र पत्रकारिता क्षेत्रको योगदानलाई सम्मान गर्दै सत्य, निष्पक्ष र जनउत्तरदायी पत्रकारितालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
सातबुँदे बझाङ घोषणापत्र जारी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको आठौँ वार्षिक साधारण सभाले पत्रकारिता क्षेत्रसहित जिल्लाको समग्र विकासका विषय समेटिएको सातबुँदे बझाङ घोषणापत्र समेत जारी गरेको छ।
घोषणापत्रमा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्मोत्सव तथा स्मृति दिवसलाई राष्ट्रिय रूपमा मनाउन सरकारसँग माग गरिएको छ। धनगढी उपमहानगरपालिका–मनहेरामा निर्माण गरिएको जयपृथ्वीबहादुर सिंहको शालिक तोडफोडको भत्र्सना गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरिएको छ।
त्यस्तै, बझाङमा सञ्चालित सञ्चारमाध्यमहरूको खस्किँदो आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पत्रकारिता क्षेत्रको विकास र सम्बर्द्धनका लागि स्थानीय सरकार, प्रशासन, निजी तथा गैरसरकारी क्षेत्रलगायत सरोकारवालाबीच समन्वय र सहकार्य गर्न आग्रह गरिएको छ। पत्रकार र सञ्चारमाध्यमलाई पत्रकारिताको नैतिकता तथा आचारसंहिताको पूर्ण पालना गर्नसमेत सभाले अनुरोध गरेको छ।
घोषणापत्रमा जयपृथ्वी राजमार्गको स्तरोन्नति, चैनपुर–ताक्लाकोट तथा सेती राजमार्ग निर्माण र पश्चिम सेती परियोजनाको काम यथाशीघ्र अघि बढाउन सरकारसँग जोडदार माग गरिएको छ।
यसैगरी, खप्तड, तपोवन ऋषिकुण्ड, सुर्मा सरोवर, ज्यावन, पाथिभेरा, वित्थड, गोर्खाली मालिका गुफा र साइपाल लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि तीनै तहका सरकारसँग पहल गर्न माग गरिएको छ।
बझाङका नागरिकले लामो समयदेखि विद्युत् समस्याको सामना गरिरहेको उल्लेख गर्दै कृषि, उद्योग, व्यापार–व्यवसाय तथा आम उपभोक्ता प्रभावित भएको भन्दै ‘लोडसेडिङमुक्त बझाङ’ बनाउन नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ।
अन्त्यमा बझाङको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक तथा पर्यटकीय विकासका साथै समग्र जिल्लाको विकासका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
























