सत्यराज सिंह बझाङ, केदारस्युँ गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने तयारीस्वरूप तीनदिने तालिम सुरु भएको छ । गाउँपालिकाको केन्द्र देउरामा बुधबारदेखि सुरु भएको तालिममा वडा तथा पालिकास्तरीय बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी तथा सदस्य सहभागी छन् ।
तालिममा केदारस्युँ गाउँपालिका–३, ४, ५ र १ का वडा तथा पालिकास्तरीय बालमैत्री स्थानीय शासन समितिका पदाधिकारी र सदस्य सहभागी छन् । बालक्लब तथा सञ्जालका प्रतिनिधि, विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, बालकल्याण अधिकारीलगायत सरोकारवालाको पनि सहभागिता छ ।
केदारस्युँ गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्य अनुसार पहिलो चरणमा वडा नम्बर ३ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ। वडा नम्बर ३ का अध्यक्ष वीरबहादुर खातीले चालु वर्षभित्रै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
तालिमले बालमैत्री स्थानीय शासन समितिको क्षमता अभिवृद्धि गर्नुका साथै बालमैत्री स्थानीय शासनका सूचकबारे अवस्था पहिचान, विश्लेषण, सरलीकरण र स्थानीयकरण गर्न सहयोग पुर्याउने सहजकर्ता वीरेन्द्रबहादुर खड्काले बताए ।
सरकारले २०८७ भित्र सबै स्थानीय तहमा बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार केदारस्युँ गाउँपालिकाले बालमैत्री स्थानीय शासन प्रणाली अवलम्बन गर्दै आवश्यक तयारी अघि बढाएको हो । प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा आयोजित तालिम केदारस्युँ गाउँपालिकाको समन्वय तथा सहकार्यमा सञ्चालन भइरहेको छ।























