कृषि र पशु विकास परियोजनाको सामाजिक परीक्षण समापन

Image

बझाङ ; खप्तडछान्ना गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाको सामाजिक परीक्षण तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।

प्रगतिशील युवा समाज, बझाङको साझेदारीमा सञ्चालित परियोजनाको समीक्षा तथा समापन कार्यक्रम बिहीबार खप्तडछान्ना गाउँपालिकामा आयोजना गरिएको हो । कार्यक्रममा परियोजनाले तीन वर्षको अवधिमा हासिल गरेका उपलब्धि, खर्च विवरण र समुदायमा पारेको प्रभाव सार्वजनिक गरिएको थियो । परियोजना संयोजक वीरेन्द्र बहादुर सिंहले परियोजनाको उद्देश्य, कार्यप्रगति, आर्थिक वर्ष २०८२÷०८३ सम्मको खर्च विवरण तथा समग्र उपलब्धिबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । पत्रकार सत्यराज सिंहले सहजीकरण गरेको सामाजिक परीक्षण कार्यक्रममा सहभागीहरूले परियोजनाको प्रभावकारिता, पारदर्शिता र दिगोपनाबारे समीक्षा गरेका थिए ।

परियोजना संयोजक सिंहका अनुसार स्थानीय किसानको आयआर्जन वृद्धि, परम्परागत कृषि प्रणालीको आधुनिकीकरण तथा युवालाई कृषि उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । परियोजनाअन्तर्गत व्यावसायिक तरकारी खेतीका लागि आवश्यक कृषि सामग्री वितरण, उत्पादित वस्तुको सही तौल र बजारीकरण सहज बनाउन एनालग तराजु उपलब्ध गराइएको थियो । त्यसैगरी, पशुपालन क्षेत्रको विकासलाई प्राथमिकता दिँदै गाउँपालिकाका विभिन्न स्थानमा पशु स्वास्थ्य शिविर सञ्चालन गरी पशुचौपायाको उपचार तथा औषधि वितरण गरिएको थियो। स्थानीय रैथाने कुखुराको व्यावसायिक पालनलाई प्रवद्र्धन गर्न सुधारिएको कुखुरा खोर निर्माणमा सहयोग गरिएको थियो भने बाख्रापालनलाई सुरक्षित र उत्पादनमुखी बनाउन सुधारिएको बाख्रा खोर तथा नमुना खोर निर्माण जस्ता थुप्रै कुरामा समेत सहयोग गरिएको जानकारी दिएका थिए । २०८० मंसिर २८ गते सम्झौता भई सुरु भएको परियोजना २०८३ असार ३० सम्म सञ्चालन हुने लक्ष्य राखिएको थियो । हालसम्म परियोजनामा दुई करोड ७१ लाख १५ हजार ८३ रुपैयाँ ३४ पैसा खर्च भएको सार्वजनिक गरिएको छ । जसमध्ये खप्तडछान्ना गाउँपालिकाले एक करोड ८२ लाख ३१ हजार १ सय ७४ रुपैयाँ तथा हेफर प्रोजेक्ट नेपालले ८८ लाख ८३ हजार ९ सय ९ रुपैयाँ ३४ पैसा लगानी गरेका छन् ।

कार्यक्रममा खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले परियोजनाले साना किसान, महिला र युवामा व्यावसायिक सोचको विकास गराएको बताए । पालिका, प्रगतिशिल युवासमाज र हेफर प्रोजेक्ट नेपालको साझेदारीले स्थानीयस्तरमै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्न महत्त्वपूर्ण योगदान पु¥याएको उनको भनाइ थियो । उनले परियोजना औपचारिक रूपमा सम्पन्न भए पनि यसबाट सिर्जना भएका उपलब्धि र संरचनालाई गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित बहादुर सिंहले विकास परियोजनामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सामाजिक परीक्षण प्रभावकारी माध्यम भएको बताए । उनले भने, ‘यस कार्यक्रम मार्फत साढे दुई करोडभन्दा बढी बजेट कहाँ र कसरी खर्च भयो भन्ने कुरा नागरिकसामु स्पष्ट रूपमा प्रस्तुत गरिएको छ । यस्ता अभ्यासले सुशासन प्रवद्र्धन गर्नुका साथै वास्तविक लक्षित वर्गले कति लाभ पाए भन्ने मूल्याङ्कन गर्न सहज बनाउँछ ।’ प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले स्थानीय सरकारसँगको सहकार्यमा कृषि तथा पशु विकासका माध्यमबाट युवालाई उद्यमशील बनाउने लक्ष्यअनुसार परियोजनाले उल्लेखनीय सफलता हासिल गरेको बताए ।

उनले फिल्डमा देखिएका उपलब्धि र किसानहरूको उत्साहले परियोजनाको प्रभाव पुष्टि गरेको उल्लेख गर्दै परियोजनाबाट सुरु गरिएका कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिनुपर्नेमा जोड दिए । साथै परियोजना सफल बनाउन सहयोग गर्ने गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल, स्थानीय कृषक तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । खप्तडछान्ना गाउँपालिका–२ का वडा अध्यक्ष ज्योति बोगटीले परियोजनाले ग्रामीण क्षेत्रका महिला र युवालाई आत्मनिर्भर बन्न प्रेरित गरेको बताए । उनले भने, ‘हाम्रो वडामा व्यावसायिक कृषि तथा पशुपालनप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको छ । यही परिवर्तन नै परियोजनाको सबैभन्दा ठूलो उपलब्धि हो ।’ कार्यक्रममा जनप्रतिनिधि, कृषक समूहका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले परियोजनाले समुदायमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता उत्पादनमुखी, आयआर्जनमुखी तथा उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्