बझाङ, कृषि ज्ञान केन्द्र, बझाङको आयोजनामा केदार आधारभूत विद्यालय, बित्थडचिर गाउँपालिका–४ मा विश्व वातावरण दिवस २०२६ विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ३०० भन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। वातावरण संरक्षण तथा हरित भविष्य निर्माणको सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय परिसरमा १०० भन्दा बढी बिरुवा रोपण गरिएको थियो।
दिवसको अवसरमा वृक्षारोपण, जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी अन्तरक्रिया, प्यानल छलफल, Climate Action Signature Campaign तथा वातावरण संवाद जस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले वातावरणीय चुनौतीहरू तथा समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रमबारे जानकारी दिँदै कृषि ज्ञान केन्द्र, बझाङका प्रमुख जनक बहादुर सिंहले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। सहायक कृषि प्रसार अधिकृत उमेश बिष्टले कार्यक्रमका उद्देश्य, सञ्चालन गरिएका गतिविधि तथा प्राप्त उपलब्धिबारे जानकारी गराउनुभएको थियो।
केदार आधारभूत विद्यालयका प्रधानाध्यापक अमर चुनाराले विद्यालयमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा कृषि ज्ञान केन्द्र, बझाङप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा बित्थडचिर गाउँपालिका–४ का वडा अध्यक्ष कलक बहादुर बोहरा, कृषि प्राविधिक दीपेन्द्र थापा तथा प्रधानाध्यापक अमर चुनारा वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको सहजीकरण युवा अभियन्ता कपिल बिष्टले गर्नुभएको थियो। साथै विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो। स्थानीय सरकार, विद्यालय, कृषि कार्यालय तथा अन्य सरोकारवाला निकायहरूको सहकार्यमा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

























