थलारामा सञ्चालित परियोजनाहरूको पारदर्शिता र प्रभावकारिता जाँच

Image

बझाङ — थलारा गाउँपालिकामा प्रगतिशील युवा समाजद्वारा सञ्चालित शिक्षा परियोजना तथा विपद् जोखिम व्यवस्थापन परियोजनाअन्तर्गतका विभिन्न योजनाहरूको अनुगमन गरिएको छ।
अनुगमनका क्रममा सञ्चालन भइरहेका गतिविधिहरूको प्रगति, प्रभावकारिता र पारदर्शिताको अवस्थाबारे स्थलगत अवलोकन गरिएको थियो।

शिक्षा परियोजनाअन्तर्गत विद्यालय सुधार, शैक्षिक सामग्री वितरण तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धिसम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकताका साथ समीक्षा गरिएको छ।

यस्तै, विपद् जोखिम व्यवस्थापन परियोजनाअन्तर्गत भूकम्प प्रतिरोधी भवन निर्माण, समुदायमा सचेतना अभिवृद्धि, पूर्वतयारी तथा जोखिम न्यूनीकरणका गतिविधिहरूको कार्यान्वयन अवस्थाको मूल्याङ्कन गरिएको छ।

अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष रामबहादुर खाती, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जोशी, प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसी लगायत सरोकारवाला तथा पत्रकारहरूको सहभागिता रहेको थियो।टोलीले विभिन्न वडाका विद्यालय तथा योजनास्थलहरूको अनुगमन गर्दै सरोकारवालासँग छलफल समेत गरेको छ।

अनुगमनपछि कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सुझाव दिइएको तथा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्