बझाङ–बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँस्थित मोडमा बिहीबार अपराह्न भएको बस दुर्घटनामा ज्यान गुमाएका बझाङका सात जनाको पार्थिव शरीर आज एकै आँगनबाट अन्त्येष्टिका लागि उठाइएको छ।
दुर्घटनामा ज्यान गुमाएका १३ जनामध्ये बझाङको बित्थडचिर गाउँपालिका–७ लगुणासाका नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी, वसन्तराज जोशी, केशवराज जोशी, अशोकराज जोशी, किसनदत्त जोशी र विसनदत्त जोशीको आज एकै स्थानमा अन्त्येष्टि गरिँदै छ।
मृतकमध्ये नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। नरेन्द्रराज बित्थडचिर–७ का वडा सचिव थिए भने विष्णुदत्त स्थानीय महादेव माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयका शिक्षक थिए। उनीहरूका भतिजा वसन्तराज जोशी पनि सोही दुर्घटनामा परेर ज्यान गुमाएका हुन्।
यस्तै, ४० वर्षीय केशवराज जोशी र उनका एकमात्र छोरा अशोकराज जोशी पनि दुर्घटनाका मृतक हुन्। अशोकराजको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशीको डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
एकै परिवार र नातागोताका सात जनाको एकै ठाउँमा अन्त्येष्टि गरिँदै गरिएको यस हृदयविदारक घटनाले सिंगो बझाङ जिल्ला शोकमा डुबेको छ। गाउँभरि शोकको माहोल छ भने मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न स्थानीयको ठूलो भीड लागेको छ।
























