बझाङ:सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बझाङको बुङ्गल नगरपालिका–७ डाडागाउँमा जन्मिएका प्रशान्त बोहराको जीवन कथा केवल व्यक्तिगत संघर्षको कथा मात्र होइन, यो गाउँ, अभाव र परिस्थितिसँग लड्दै आफ्नो पहिचान बनाउने एक युवाको यात्राको दस्तावेज हो।
हाल सामुदायिक रेडियो बुङ्गल एफ.एम. ९८.३ मेगाहर्जमा स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालिरहेका बोहराको बाल्यकाल भने जंगलकै खर्कबाट सुरु भएको थियो।
जंगलमै सुरु भएको बाल्यकाल

मेरो जीवन यात्रा दुई वर्षको उमेरमै सुरु हुन्छ। बुङ्गल नगरपालिका–७ को सुंगरीखाली जंगलमा बाजे–बजैसँग खर्क बसाइँबाट मेरो बाल्यकाल बित्यो। तीन वर्ष जंगलमै बिताएपछि विद्यालय जीवन सुरु भयो।
विस्फोटले चकनाचुर बनाएको बाल्यकाल
२०६६ साल जेठ २९ गते कक्षा ३ मा अध्ययनरत बोहराको जीवनले अप्रत्याशित मोड लियो। विद्यालयबाट घर फर्कने क्रममा साथीहरूसँग खेल्दा भेटिएको वस्तु बम भएको थाहा नपाउँदा विस्फोट भयो। घटनामा एक सहपाठीको ज्यान गयो भने बोहरा स्वयं घाइते भए।
माओवादी जनयुद्धकालमा बाटोमा छोडिएको विस्फोटकले निर्दोष बालबालिकाको जीवनमा गहिरो घाउ छोडेको त्यो घटना आज पनि उनको स्मृतिमा ताजा छ।
आमाको जीवन र मेरो दोस्रो जन्म
२०६८ सालतिर, कक्षा ५ मा पढ्दै गर्दा मेरी आमा गम्भीर बिरामी हुनुभयो। गाउँलेहरूको सहयोग र भुमिराज देवता तथा भगवानको आशिषले कोहलपुर अस्पतालमा उपचार सफल भयो। आज म “आमा” भन्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु।
२०७० सालमा म आफैँ पनि गम्भीर बिरामी परेँ। राति १२ बजे गाउँलेहरूले मलाई बोकेर सडकसम्म पुर्याए र धनगढीको सेती अञ्चल अस्पताल लगियो। एक हप्ता अस्पताल बसाइँपछि म निको भएर घर फर्किएँ। त्यो मेरो जीवनको अर्को पुनर्जन्म जस्तै थियो।
SEE, भारत र अधुरो सपना
२०७५ सालमा SEE दिएपछि गणित विषयमा असफल हुँदा भारत पुगेर काम गरिरहेका बोहराले पुनः परीक्षा दिएर सफलता हासिल गरे। सिभिल इन्जिनियर बन्ने सपना भए पनि कमजोर आर्थिक अवस्था र आमाको उपचारले त्यो सपना त्यतिबेलै थन्कियो।
विदेश जाने तयारीमा काठमाडौं पुगे, पासपोर्ट र भिसाको प्रक्रिया अघि बढ्यो। तर त्यसैबीच परिवारको दबाबमा विवाह भयो। त्यसपछि सुरु भयो जीवनको अर्को अध्याय।
रेडियोतर्फ मोडिएको जीवन
२०७६ सालमा दार्चुलाबाट रेडियो निगरानीको सूचना सुनेपछि उनले पत्रकारिताको तालिम लिए। त्यही समय साउदी जाने टिकट फिक्स भए पनि कोरोना महामारीका कारण लकडाउन सुरु भयो र विदेश जाने सपना टुट्यो।
पछि भारतको ब्याङ्लोर पुगेर काम गरे पनि मन भने बुङ्गलमै रेडियो स्थापना गर्ने कल्पनामा अडिग रह्यो।
बुङ्गल एफ.एम.को स्थापना

२०७९ सालपछि पत्रकार सुरेश धामीसँग सहकार्य गर्दै बोहराले बुङ्गलमा आफ्नै रेडियो स्थापना गर्ने योजना अघि बढाए।
२०८१ साउन २३ गते रातिदेखि बुङ्गल एफ.एम. ९८.३ मेगाहर्ज औपचारिक रूपमा प्रसारणमा आयो। दुर्गम क्षेत्रका आवाजलाई माइकसम्म पुर्याउने सपना साकार भयो।
व्यक्तिगत जीवनका गहिरा पीडा
रेडियो स्थापनाको खुसी धेरै टिक्न सकेन। २०८१ मंसिरमा जीवनसाथीले दुई वर्षको छोरा छोडेर हिँडिन्। त्यसपछि घर, सन्तान र रेडियो—सबैको जिम्मेवारी एक्लै सम्हाल्नुपर्यो।
पुनः विवाहपछि पनि जीवनले विश्राम दिएन। २०८१ चैत १३ गते बहिनी माटोको ढिस्कोमा पुरिन पुगिन्। लामो उपचारपछि उनलाई फुपूको घरमा राखियो।
त्यसै वर्ष मंसिर ५ गते रोजगारीका लागि भारत जाँदै गरेका बुबाको सडक दुर्घटनामा मृत्यु भयो। २५ वर्षकै उमेरमा बोहरा बुबाविहीन बने।
संघर्षमै अडिएको वर्तमान
आज प्रशान्त बोहरा घरपरिवारको सम्पूर्ण जिम्मेवारी र रेडियो स्टेशनको नेतृत्व सम्हाल्दै अघि बढिरहेका छन्।
उनका लागि रेडियो केवल पेशा होइन—पीडा भुलेर समाजका आवाज बोल्ने माध्यम हो।
दुर्गम गाउँको खर्कदेखि रेडियो स्टेसनसम्मको यो यात्रा बताउँछ—
संघर्षले थिचे पनि सपना मर्न दिनु हुँदैन।
























