बझाङ। बुङ्गल नगरपालिकामा सञ्चालन गरिएको दुईदिने एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविरबाट २ सय १२ जना बिरामी लाभान्वित भएका छन्। सुदूरपश्चिम समाज दक्षिण कोरिया र बुङ्गल नगरपालिकाको संयुक्त आयोजनामा तथा निशर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि धनगढी, कैलालीको सहकार्यमा शुक्रबार भएको शिविरबाट क्रबार ६६ महिला र ३६ पुरुष गरी १ सय २ जना र शनिबार स्वास्थ्य कार्यालय बझाङको आयोजनामा भएको शिविर बाट १ सय १० जनाले सेवा लिएका हुन् ।
बुङ्गल नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय र खिरातडी स्वास्थ्य चौकी बिजगडामा सम्पन्न भएको उक्त शिविर बाट शिविरको पहिलो दिन शुक्रबार ६६ महिला र ३६ पुरुष गरी १ सय २ जना तथा दोस्रो दिन शनिबार ७६ महिला र ३४ पुरुष गरी १ सय १० जना गरी दुई दिनमा जम्मा २ सय १२ जनाले स्वास्थ्य सेवा लिएको बुङ्गल नगरपालिकाका जनस्वास्थ्य निरीक्षक कलक बहादुर बोहराले बताउनुभयाे ।
शिविरमा सामान्य चिकित्सक तथा नसारोग विशेषज्ञ, मुख तथा दन्त रोग विशेषज्ञ, जनरल सर्जरी तथा मानसिक रोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै भिडियो एक्स–रे सेवा, प्रयोगशाला तथा ल्याब परीक्षण, निःशुल्क औषधि वितरण र आवश्यक परामर्श सेवासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ। स्वास्थ्य सेवाबाट वञ्चित तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी आयोजना गरिएको यस शिविरले स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको सहभागीहरूले बताएका छन्। आयोजक पक्षले यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।


























