बझाङ । बुङ्गल नगरपालिका वडा नम्बर ३ मा अवस्थित रत्न माध्यमिक विद्यालय खोल्लेकमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार सुदृढीकरण तथा संस्थागत विकासलाई सहयोग गर्ने उद्देश्यसहित ‘रत्न मावि विकास कोष’ औपचारिक रूपमा घोषणा गरिएको छ।
मंगलबार विद्यालय परिसरमै आयोजित विद्यालय विकास कोष घोषणा तथा अभिभावक भेला कार्यक्रममा उक्त विकास कोषको घोषणा गरिएको हो। विद्यालय प्रशासनका अनुसार आर्थिक रूपमा कमजोर अवस्थाबाट गुज्रिरहेको विद्यालयको समग्र विकासका लागि दीर्घकालीन सहयोग जुटाउने उद्देश्यले विकास कोष स्थापना गरिएको हो।
विकास कोषमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर धामीले सबैभन्दा बढी ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। अध्यक्ष धामीको योगदान विद्यालयका लागि उल्लेखनीय र प्रेरणादायी रहेको विद्यालयले जनाएको छ। विद्यालय विकासका लागि निरन्तर सहयोग गर्दै आउनुभएका अध्यक्ष धामीले यसअघि पनि विद्यालयको खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले करिब २० हजार रुपैयाँ बराबरका भलिबल, नेट, कवडी खेलका लागि आवश्यक नी–क्याप, एल्बो–क्याप, मेजरिङ टेप, लाइन इन्डिकेटर, भ्याभलिनलगायतका खेल सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो।
विद्यालय प्रशासनका अनुसार अध्यक्ष धामीको निरन्तर सहयोगले विद्यार्थीहरूको खेलकुद सहभागिता वृद्धि हुनुका साथै विद्यालयमा सकारात्मक शैक्षिक वातावरण निर्माणमा टेवा पुगेको छ। विकास कोष स्थापना सँगै विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक, जनप्रतिनिधि तथा शुभेच्छुक महानुभावहरूले पनि आर्थिक सहयोग गर्नुभएको छ। जनप्रतिनिधि जनक कुवरले १० हजार ५ सय रुपैयाँ, विद्यालय व्यवस्थापन समिति सदस्य राम धामीले ८ हजार ५ सय ५५ रुपैयाँ, नर बहादुर धामीले ५ हजार ५ सय ५५ रुपैयाँ, शिक्षक अभिभावक संघ अध्यक्ष मान बहादुर बोहराले ५ हजार १ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको विद्यालयले जनाएको छ।
यसैगरी विद्यालय व्यवस्थापन समिति सदस्य रेजिना ओखेडा, शिक्षक अभिभावक संघ सदस्य सुसिला कुमारी धामी बोहरा र विद्यालय स्थापना सदस्य ठगुवा कामीले जनही ५ हजार रुपैयाँ, तथा चन्द्रा बोहराले १ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। विद्यालयले विकास कोषमा सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई औपचारिक रूपमा सम्मान गर्नुका साथै विद्यालय परिसरमा निर्माण गरिने शिलालेखमा सहयोगीहरूको नाम अंकित गरिने निर्णयसमेत गरेको छ। यसले सहयोगी महानुभावहरूको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाउने विश्वास लिइएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक राम बहादुर विश्वकर्माले विकास कोषको महत्वबारे बताउँदै भन्नुभयो, “विद्यालयको दीर्घकालीन विकासका लागि यस्तो विकास कोष अपरिहार्य छ। विव्यस अध्यक्ष कर्ण बहादुर धामीज्यूबाट प्राप्त आर्थिक तथा भौतिक सहयोगले विद्यालय परिवारलाई थप ऊर्जा र हौसला मिलेको छ। विकास कोषमार्फत आगामी दिनमा शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विस्तार, सिकाइमैत्री वातावरण निर्माण तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिनेछ।” प्रधानाध्यापक विश्वकर्माले विद्यालयप्रति देखाइएको विश्वास, अपनत्व र सहयोगका लागि सम्पूर्ण सहयोगी महानुभावहरूप्रति आभार व्यक्त गर्नुहुँदै देश–विदेशमा रहनुभएका अभिभावक, शिक्षा प्रेमी तथा शुभेच्छुक महानुभावहरूलाई विकास कोषमा आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न आग्रह गर्नुभयो।
विद्यालय प्रशासनका अनुसार विद्यालयको समग्र प्रगति र गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक, समुदाय र जनप्रतिनिधिबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै विद्यालयको विकासलाई साझा दायित्वका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ

























