स्ववियुको पहलमा सुनकुडा क्याम्पसमा निशुल्क होस्टेल सञ्चालन हुने

Image

बझाङ— बझाङको सुनकुडा क्याम्पसमा अबदेखि विद्यार्थीहरूका लागि निशुल्क होस्टेल सेवा सञ्चालन हुने भएको छ। टाढा–टाढाका बस्तीबाट आएर अध्ययन गर्ने विद्यार्थीहरूले बसोबासमा भोग्दै आएको समस्यालाई समाधान गर्ने उद्देश्यले क्याम्पस सञ्चालक समितिको मंगलबार बसेको महत्वपूर्ण बैठकले होस्टेल निःशुल्क खुला गर्ने निर्णय गरेको हो।

स्ववियुको निरन्तर पहल र विद्यार्थीहरूको मागलाई ध्यानमा राखी क्याम्पसले कुनै पनि प्रकारको शुल्क नलाग्ने गरी होस्टेल उपलब्ध गराउने घोषणा गरेको छ।

बैठकपछि संचालक समितिका अध्यक्ष रमेश बहादुर अधिकारीले विद्यार्थीहरूलाई बसोबासको चिन्ता हटाएर अध्ययनमा पूर्ण ध्यान दिन सक्ने वातावरण निर्माण गर्नु क्याम्पसको प्राथमिकता भएको बताउनुभयो।

त्यस्तै, क्याम्पस प्रमुख लतिल बहादुर बिष्टले होस्टेललाई सुरक्षित, व्यवस्थित र विद्यार्थीमैत्री ढङ्गले सञ्चालन गर्न आवश्यक तयारी पूरा भइरहेको जानकारी दिनुभयो।

स्ववियु अध्यक्ष कपिल बिष्ट (सरकार)ले आफूले नेतृत्व गरेको विद्यार्थीमैत्री अभियानको महत्वपूर्ण उपलब्धिमध्ये एकका रूपमा होस्टेललाई निशुल्क बनाइएको उल्लेख गर्नुभयो। उहाँका अनुसार होस्टेल सञ्चालनले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई ठूलो राहत मिल्नेछ।

होस्टेलमा बस्न इच्छुक विद्यार्थीहरूले क्याम्पस प्रशासन शाखा वा स्ववियु अध्यक्ष कपिल बिष्ट (मो. नं. 9748220596) मा सम्पर्क गर्न सक्ने क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्