रुपक खड्का, बझाङ । प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालबीचको साझेदारीमा बझाङको केदारस्यु गाउँपालिकाका दुई दुर्गम विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ। बालबालिकाको स्वच्छता र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै केदारस्यु गाउँपालिका–३ हस्सडाको केदार आधारभूत विद्यालय र वडा नम्बर ६ रोतागडाको भूमिदेव आधारभूत विद्यालयमा पहुँचयुक्त, भूकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री शौचालय निर्माण गरी मंगलबार हस्तान्तरण गरिएको हो।
परियोजना व्यवस्थापक यज्ञराज जोशीका अनुसार करिब १५ लाख रुपैयाँ लागतमा बनेका तीन कोठे बालमैत्री शौचालयमा टायल बिछ्याइएको छ भने वरिपरि अपांगमैत्री र बालमैत्री धारा जडान गरिएको छ। कार्यक्रमका अवसरमा प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले नवनिर्मित शौचालयको चाबी गाउँपालिका उपाध्यक्ष मनिषा धामीलाई हस्तान्तरण गर्दै, दुर्गम विद्यालयमा परियोजनाले महत्वपूर्ण योगदान गरेको बताए। उनले आगामी दिनमा बालबालिकाको शिक्षा क्षेत्रमा स्थानीय सरकारसँग थप सहकार्य आवश्यक हुनेमा जोड दिए।
उपाध्यक्ष मनिषा धामीले पनि परियोजनाले शिक्षा र सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति ल्याएको उल्लेख गर्दै प्रशंसा गरिन्। उनका अनुसार, विगतमा सरसफाइको अभाव र विभिन्न कारणले विद्यालय आउन नमान्ने बालबालिकामा अहिले सिकाइप्रति रुचि बढेको छ। विद्यालयमा शौचालय बनेपछि विद्यार्थीलाई सहज भएको र खुला दिसापिसाब गर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयले यस कार्यलाई विद्यालय र समुदाय दुवैका लागि ठूलो सहयोग भएको बताएका छन्।
























