बझाङ । बुंगल नगरपालिकाले परम्परागत सीप र पेशालाई आधुनिकरण गर्दै दलित समुदायको सामाजिक तथा आर्थिक रूपान्तरणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न सीप विकास तालिम तथा सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ।
संघीय सरकारबाट प्राप्त एक करोड रुपैयाँ बराबरको सशर्त अनुदान अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममार्फत नगरपालिकाले हालै ३० जना दलित परिवारलाई लाई मौरीपालन सम्बन्धी विशेष तालिम प्रदान गर्दै गोला सहितको मौरी घार वितरण गरेको छ। साथै, ३० जना कृषकलाई एक महिनाको कृषि तालिम दिइ कृषि उपकरण समेत वितरण गरिएको छ।

यस्तै, एक महिनाको सिलाई तालिम पश्चात् १०० जना महिलालाई सिलाई मेसिन वितरण गरिएको छ भने १० जना महिलालाई इन्टरलक मेसिन प्रदान गरिएको बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले जानकारी दिनुभयो।
दलित समुदायभित्रको परम्परागत औजार निर्माण सीपलाई व्यवसायिक बनाउने उद्देश्यले ३० परिवारलाई आरन (औजार निर्माण सामग्री) वितरण गरिएको छ।नगरप्रमुख धामीका अनुसार कार्यक्रमबाट नगरभित्रका २०० भन्दा बढी दलित नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
शुक्रबार त्रिवेणी आदर्श बहुमुखी क्याम्पस, बिजगडामा आयोजित एक कार्यक्रमका अवसरमा सिलाई मेसिन वितरण गर्दै नगरप्रमुख धामीले भन्नुभयो, “सामाजिक समावेशिता र पेशागत विकासको संयोजनमार्फत सीप, औजार र अवसर प्रदान गर्दै दलित समुदायलाई आर्थिक रूपमा सक्षम बनाउनु नगरपालिकाको लक्ष्य हो।”
स्थानीयवासीहरूका अनुसार यस्ता कार्यक्रमहरूले सीपमात्र होइन, आत्मनिर्भरता र उद्यमशीलता अभिवृद्धिमा समेत सहयोग पुर्याउने विश्वास लिएको छ।

























