बझाङ । बुंगल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
बुंगल नगरपालिका–६ खौलाधार स्थित कम्पनीको कार्यालयमा भव्य कार्यक्रमबीच आईपीओ उद्घाटन गरिएको हो। कार्यक्रमका सभापति कम्पनीका सचिव परविग्य पन्थी रहनु भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख जय बहादुर धामी र विशिष्ट अतिथि उपप्रमुख धन बहादुर बोहरा रहनु भएको थियो। कार्यक्रममा वडा नं. १ देखि ११ सम्मका वडाध्यक्षहरू तथा सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य सानिगाड हाइड्रोका प्लान्ट म्यानेजर गणेश अधिकारीले राख्नुभएको थियो भने हिमालयन क्यापिटल लिमिटेडका प्रतिनिधि अमित पाण्डेले सेयर पूँजी तथा आईपीओको विषयमा जानकारी दिनुभएको थियो। कार्यक्रम सञ्चालक कम्पनीका जनसम्पर्क अधिकृत सन्तोष मल्ल हुनुहुन्थ्यो।
कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्कासन गरेको छ।त्यसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। ५ लाख ३९ हजार ५ सय कित्ता बुङ्गल नपा–६ र ७ का अति प्रभावित स्थानीयहरूका लागि र २ लाख ९० हजार ५ सय कित्ता बुङ्गल नगरपालिका वडा नं १, २, ३, ४, ५, ८, ९, १० र ११ का सामान्य प्रभावित स्थानीयहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।
त्यस्तै, सर्वसाधारणलाई छुट्याइएको २० लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने म्याद साउन ११ गतेसम्म तोकिएको छ।सेयर बिक्री प्रबन्धकको जिम्मा हिमालयन क्यापिटल लिमिटेडले लिएको छ। आवेदन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ शाखा, कृषि विकास बैंकको बुंगल शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा र आयोजना स्थान खौलाधार बाट दिन सकिनेछ।
























